प्रधानमन्त्रीद्वारा भलिबल कभर्डहल बनाउने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टिमसँग कुरा गर्दै अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले खेल प्रशिक्षक एवं खेलाडीबीच महिला भलिबलले हालसम्म हासिल गरेका उपलब्धि थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल गर्नुभएको थियो । छलफलका क्रममा ओलीले भन्नुभयो ‘तपाईहरुलाई सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नैपर्ने काम गर्नेछौं । आगामी खेलमा जित्छौं, खेल खेल्ने भनेको जित्नकै लागि हो ।’
प्रधानमन्त्री ओलीले दुई साता अघि सम्पन्न ‘काभा वुमन्स नेशन्स भलिबल प्रतियोगिता’ हेर्न आफुले चाहेको भए पनि मन्त्रीपरिषदको आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउनु भएको
थियो । उहाँले खेलाडीका प्रगति, चाहना र मागबारे आफु जानकार रहेको पनि बताउनुभयो । साथै उहाँले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही तीन लाख रुपैयाँ दिने निर्ण गरेको जानकारी दिनुभयो ।
छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरी लगायत अन्य खेलाडीहरुको सहभागी हुनुहुन्थ्यो ।

LEAVE A REPLY