काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता समिकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने दावी गर्नुभएको छ । उहाँले राजधानीको दरबारमार्गमा भएको एमालेको जन जागरण सभालाई सम्बोधन गर्ने क्रममा त्यस्तो दाबी गर्नु भएको हो । उहाँले वर्तमान सरकार देश र जनताको पहरेदारको रुपमा रहेको र यो सत्ता समिकरण २०८४ मंसिरसम्म नै रहने जिकिर समेत गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘एमालेलाई कमजोर पार्ने प्रपञ्च भइरहे पनि कसैले हल्लाउन सक्दैन । स्थिर रहेको सरकारलाई कसैले हल्लाउन सक्दैन । यो सरकार कमिसन खोरीका लागि होइन । मेरिटोक्रेसीको नाममा आफ्ना कार्यकर्ता भर्नका लागि होइन । जनताको विकासको चाहना पुरा गर्ने र स्थायित्व दिने गरी बनेको हो ।’ उहाँले थप्नुभयो– ‘नेकपा एमाले र नेपाली कांग्रेस प्रतिस्पर्धी पार्टी हुन् । अहिले यी दुई पार्टी मुलुकको विकासका लागि एक ठाउँमा उभिएका छन् । अहिले नेकपा एमाले र कांग्रेसबीचको प्रतिस्पर्धाभन्दा एकता चाहिन्छ । यहाँ अराजकताको स्थिति ल्याउन खोजिएको छ । त्यसैले हामी मिलेका छौं । यो सत्तासमिकरण २०८४ मंसिरसम्म सानदार ढंगले भइरहन्छ ।’
उहाँले सभालाई सम्बोधन गर्ने क्रममा आफु नेतृत्वको सरकार माथि आई परेका आरोपलाई चिर्दै भन्नुभयो ‘सरकार बन्दैन भन्थे बन्यो । विश्वासको मत पाउदैन भन्थे पायो । महिनादिन कट्दैन भन्थे कट्यो । अब फेरी फागुन कट्दैन भन्लान् तर म भन्छु यो सरकार पूर्ण सहमति अनुसार नै चल्दछ र यो समिकरण २०८४ मंसिरको चुनावसम्म रहन्छ ।’ २०८३ असारपछि म प्रधानमन्त्री छोडेर देउवाजीलाई जिम्मा लगाउँछु । मैले अब १८ महिना चलाउछु र त्यसपछि देउवाले १८ महिना चलाउनुहुन्छ यस बारे भ्रममा नपर्नुस् ।’
प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेबाट हुने चीन भ्रमण अत्यन्तै सफल हुने दाबी गर्दै, चीन भ्रमण सफल बनाउने गरी तयारी भइरहेको जानकारी समेत दिनुभयो । प्रधानमन्त्रीको हैसियतमा यही मंसिर १७ गते चीन भ्रमण्मा जाने र भ्रमण उदाहरणीय पार्ने उहाँको भनाइ छ । उहाँले पहिले भारत जाने अनिपछि चीन जानुपर्ने भन्ने भ्रामक धारणालाई चिर्दै त्यस्तो नीति नियम कुनै धर्मशास्त्र, कानून, संयुक्त राष्ट्र संघको वडा पत्रमध्ये कही पनि उल्लेख नभएको र सबै छिमेकीसँग पारस्परिक सम्बन्धका आधारमा समान व्यवहार गर्छौ भन्नुभयो । हाम्रा लागि कोही सत्रु छैन । वैरभाव राख्दैनौं ।’
प्रधानमन्त्री ओलीले सम्बोधनकै क्रममा अर्थतन्त्र खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाएको टिप्पणी गर्दै अफवाहप्रति आपत्ति जनाउनुभयो । उहाँले कुनै पनि भ्रष्टाचार र ठगी सह्य नहुने चेतावनी दिनुभयो । समाजमा अराजकता र भ्रम फैलाउनेहरुलाई नछोड्ने अडान समेत गर्नुभयो ।
यसरी यत्रो तामझामका साथ गरिएको जागरण सभा आफ्नो केही भनाइ राख्न मात्र गरिएको जस्तो देखियो तर दुःख सास्ती भने पुरै उपत्यकावासीले भोग्नुप¥यो । यस बारेमा पनि सोच्नुपर्ने थिएन र ?