काठमाडौं । पराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता भएको छ ।
भारतको ५ दिने भ्रमणमा रहेकी उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गर्ने कार्यसूची छ ।
त्यस क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश मोदीलाई सुनाउने बताइएको छ ।
असार ३१ गते नयाँ सरकार बनेपछि परराष्ट्र मन्त्रीको यो पहिलो भारत भ्रमण हो ।
पराष्ट्रमन्त्री आरजु र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
सभापति देउवा र भारतीय विदेश सचिव मिस्रीविचकोभेटवार्तामा के छलफल भयो ?
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् ।
सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा नेपाल–भारत सम्बन्ध र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने तथा थप सुदृढीकरण गर्ने विषयमा छलफल भएको थियो ।
भारतीय सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका हुन् । यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको छ ।
सचिव मिस्रीको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गरेको जनाइएको छ ।
भ्रष्टाचारको मुद्दामा सांसदहरूको मत विभाजित
काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरू भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने कुरामा विभाजित भएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव गर्दै सांसदहरूले हदम्याद राख्ने र नराख्नेमा आ–आफ्नो धारणा राखेका हुन् ।
प्रतिनिधि सभा सदस्यहरूले भ्रष्टाचार गर्नेहरूलाई उसको जीवनकालभरी अनुसन्धान गर्न सकिने प्रावधान राख्नुपर्नेमा जोड दिएका छन् । अर्कोथरी धारणा भने भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नुपर्ने पनि आएका छन् । प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद राखेर भ्रष्टाचारीलाई उम्काउने र संरक्षण गर्ने नीति राख्नु नहुने बताए ।
उनले पाँच वर्षको हदम्याद स्वीकार्य नहुने भन्दै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न व्यक्तिहरूलाई उसको जीवन अवधिभरमा कारबाही गर्न सकिने व्यवस्था गर्नुपर्ने बताए ।
उनले भने ‘हामीले यदि यही ५ वर्षको हदम्याद भित्र नै भ्रष्टाचारलाई उम्काउने, पन्छाउने र भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने खालको नीति भयो भने जनतालाई नकारात्मक रुपमा पर्ने प्रभावलाई ध्यान दिनुपर्ने जरुरी छ । यसलाई संसदभित्रको बहुमत र अल्पमतको दृष्टिकोणले होइन राष्ट्रिय जनभावनाको दृष्टिकोणले हेर्नु आवश्यकता छ । जुन पाँच वर्षको अवधि भनिएको छ । यो पाँच वर्षको अवधि स्वीकार्य हुन सक्दैन । भ्रष्टाचार वा भ्रष्टाचारजन्य गतिविधिमा संलग्न व्यक्तिलाई कारबाही गर्ने म्याद उसको जीवनकालभर हुनुपर्छ ।’
प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको नेपाल सरकारद्वारा प्रस्तुत विधेयकमा भएको कसुर र सजायमा थप गर्न आवश्यक नभएको धारणा राखे । उनले कठोर सजाय राखेर भ्रष्टाचार निवारण नहुने भन्दै त्यसका लागि विविध प्रविधिहरू अवलम्बन गर्नुपर्ने बताए । जतिसुकै क्रूर अपराधीलाई पनि कठोर सजाय दिइने व्यवस्था लोकतन्त्रको मर्यादाभित्र नपर्ने उनको भनाई छ ।
उनले भने ‘भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको नेपाल सरकारद्वारा प्रस्तुत विधेयकमा भएको कसुर र सजायमा थप गर्न आवश्यक छैन । पर्याप्त त्यसमा व्यवस्था गरिसकिएको छ । अथ थप सजायको व्यवस्था गर्ने कुरा आवश्यक छैन । ’
प्रतिनिधि सभा सदस्य नागिना यादवले भ्रष्टाचारको मुद्दामा हदम्याद राखेर जानुपर्ने बताए । उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको नेपाल सरकारद्वारा प्रस्तुत विधेयकमा भएको कसुर र सजाय थप गर्न आवश्यक नभएको पनि बताए ।
उनले भने ‘सरकारले जुनसुकै बेला जुनसुकै संस्था वा कम्पनी र व्यक्तिमाथि प्रहार गर्ने असिमिति अधिकार प्रदान गर्छ । यो अहिलेको प्रस्तावनाले असीमित दायरामा राख्ने अधिकार दिएको जस्तो देखिन्छ । सीमित गर्नुपर्छ । कानुनको पनि दायरा हुन्छ । हद तोक्नुपर्छ । भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको नेपाल सरकारद्वारा प्रस्तुत विधेयकमा भएको कसुर र सजाय थप गर्न आवश्यक छैन । भएकै कानुन पुग्दो छ ।’
प्रतिनिधि सभा सदस्य सोविता गौतमले भ्रष्टाचार गरिएको रकमको आधारमा सजायको वर्गीकरण गरिनुपर्ने बताइन् । उनले १ करोड रुपैयाँदेखि २० करोड रुपैयाँसम्म भ्रष्टाचार गर्नेलाई ८ देखि १० वर्षसम्म कैद गर्नुपर्ने बताइन् । उनले २० देखि ५० करोड रुपैयाँ भ्रष्टाचार गर्नेलाई १० देखि १५ वर्ष, ५० करोडदेखि १ अर्ब रुपैयाँ भ्रष्टाचार गर्नेलाई १५ देखि २० वर्ष र १ अर्बभन्दा बढी भ्रष्टाचार गर्नेलाई २० वर्षदेखि कसुरदारको मृत्यु नहुञ्जेलसम्म कैद हुने प्रावधान राख्नुपर्ने बताए ।
हरेक शनिवार घर निर्माण सम्बन्धि निःशुल्क परामर्श सेवा कार्यक्रमको आयोजना
काठमाडौं। घरसँग सम्बन्धित बिभिन्न जग खन्ने देखि घर निर्माण र समस्या समाधान सेवाहरू दिँदै आएको स्किल सेवाले घर निर्माण सम्बन्धी निशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दैछ।
विगत ५ बर्ष देखि घर र घरकै समस्याहरूको स्रोत पहिचान र समस्या समाधानमा काम गर्दै अइरहेको यस कम्पनीले अफ्ना ३ शाखाहरू समेत बाट ४० हजार भन्दा बढी समस्या भएको घरहरूमा अफ्ना सेवा प्रदान गरीसके पश्चात, समस्या रहित घर के कसरी निर्माण गर्न सकिन्छ, घर बनाउनु पूर्व के कस्ता कुरामा ध्यान दिने , अवश्यक कागजात र प्रक्रियाहरू समेतको बिस्तृत जानकारी दिने गरी कम्पनीको सामाजिक उत्तरदायित्व स्वरूप निशुल्क परामर्श कार्यक्रमको आयोजन गरिएको हो ।
हरेक हप्ताको शनिबार बिहान ८ बजे देखि दिउँसो ४ बजे सम्म कम्पनीको मूख्य कार्यालयमा निशुल्क परामर्श कार्यक्रम हुने कम्पनीका सिइओ रमेश तिमिल्शिना ले बताउनु भयो ।
देशका प्रमुख शहरहरू पोखरा,चितवन र बुटवलबाट समेत सेवा दिँदै आएको स्किल सेवाले कार्यक्रम मार्फत सर्वसाधारणलाई घर बनाउँदा समस्या रहित, दिगो, सुरक्षित कसरी बनाउने भन्ने बारेमा विशेष परामर्श दिन लागेको जानकारी दिएको छ।
घर बनाउँदा ध्यान दिनुपर्ने कुराहरु, निर्माणका क्रममा हुने कमीकमजोरी एवम् प्रक्रियागत त्रुटीका बारेमा ध्यान नदिँदा घरमा विभिन्न किसिमका जोखिम आउने, अफनो लगानी समेत खेर जान सक्ने र निर्माण पश्चात सहजै बिक्री समेत नहुने गरेको उनको भनाई छ। यसको लागि घर निर्माण गर्नुअघि प्राविधिकको परामर्श लिनु उचित हुने उनले बताए।
जग्गा छनौट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदि जस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान दिनु अति आवश्यक रहेको उनले जानकारी दिए।
जीवन भरको मेहनतको कमाईले घर निर्माण गरिने र घर बनेको केही महिना नबित्दै घरमा सिपेज, भित्ता चर्किने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेकाले यसबारे उपभोक्तालाई विस्तृत जानकारी तथा परामर्श दिन लागेको कम्पनीका प्रबन्धक रमेश तिमिल्सिनाले बताए।
६४ जिल्लामा नौ लाख गरिब
काठमाडौं । सरकारले विपन्न पहिचान गर्न थालेको १२ वर्ष भए पनि राम्रो उपलब्धी भने नमिलेको बताइएको छ । विपन्न परिवारलाई आधारभुत सहुलियत र सुविधा प्रदान गरेर जीवनयापन सहज गराउने उद्देश्यले सरकारले गरिब परिवार पहिचान गर्न थालेको हो । यो क्रम १२ वर्ष भयो तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालसम्म ६४ जिल्लामा मात्रै तथ्यांक संकलन सकाएको छ । मन्त्रिपरिषदले हालै स्वीकृत गरेको १५ जिल्लाको तथ्यांकसहित ६४ जिल्लामा आठ लाख ८६ हजार ७८३ गरिब परिवार यकित गरेको हो । बाँकी १३ जिल्लामा भने सर्वेक्षण नै बाँकी छ ।
सरकारले ०६९ मा ‘गरिब घरपरिवार सहयोग समन्वय बोर्ड’ गठन गरेर तथ्यांक संकलन थालेको थियो । यसअघि ६ लाख १५ हजार १४३ परिवार गरिब पहिचान भएकोमा थप १५ जिल्लामा दुई लाख ७१ हजार ६४० परिवार थपिएको हालैको मन्त्रिपरिषदले स्वीकृत गरेको छ । १५ जिल्लाको गरिब पहिचानको काम भने मन्त्रालयले दुई वर्षअघि स्थानीय तहमार्फत थालेको थियो । ओखलढुंगा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, पर्सा, बारा, बैतडी, मनाङ, मुस्ताङ, रुपन्देही, सप्तरी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका गरिब परिवार पहिचानलाई सरकारले स्वीकृत गरेको छ ।
‘गरिब परिचयपत्र भएकालाई केही सुविधा अहिले पनि सुनिश्चित गराएको छ । कतिपय स्थानीय तहले सेवा, सुविधा, लाभ वितरण र कार्यक्रम सञ्चालन गर्दा यही परिचयपत्रलाई आधार बनाएका छन् ।’ गरिब परिवार पहिचान गर्नुको कारण खुलाउँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले भने– ‘अब संघीय सरकारका अरु कार्यक्रमका लागि पनि गरिब परिचय पत्रलाई आधार बनाई नीति कार्यान्वयनमा ल्याउने काम अघि बढाइएको छ ।’
सरकारले गरिब परिचत्र पत्रको नाम फेरेर राज्य सुविधा परिचय पत्र बनाएको छ । गत वैशाखमा मन्त्रिपरिषदले गरिब परिचयपत्र सम्बन्धी निर्देशिका २०७५ संशोधन गर्दै नाम बदलेको हो । गरिब नाम दिँदा हेयभावले हेरिने भएकाले नाम बदलिएको हो ।
काठमाडौं । सत्तासीन कांग्रेसमा एउटै व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने बहस सुरु भएको छ । बहसको सुरुवात नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरेका छन् । यो बहसले सभापति शेरबहादुर देउवालाई भावि प्रधानमन्त्री बन्न पूर्ण रुपमा रोक लगाउने भएको छ । किनकी सभापति देउवा यसअघि पटक पटक प्रधानमन्त्री भैसकेका छन् ।
संस्थापन पक्षले पार्टी सभापति देउवालाई रोक्न यस्तो प्रस्ताव गरिएको आरोप लगाएको छ भने संस्थापन इतर पक्षले ‘पद्दती’ विकासका लागि यो प्रस्ताव अनिवार्य भएको तर्क गरेको छ । पार्टीको जारी केन्द्रीय कमिटिको बैठकमा महामन्त्री शर्माले एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने गरी राखेको प्रस्तावका विरुद्धमा पार्टीका संस्थापन पक्षका नेताहरुले आक्रोस व्यक्त गरेका छन् । बैठकमा के।स। आरजु देउवा राणा र प्रवक्त डा।प्रकाशशरण महतले शर्माको प्रस्तावको विरोध गरेका थिए । उनले भने ‘एक्जिट पोलिसी व्यवहारिक छैन, यसलाई पारित गर्ने हो भने सभापति देउवा फेरि प्रधानमन्त्री बन्न पाउनु हुन्न ।’
उता महामन्त्री शर्माले भने नेतृत्व बहिर्गमनका लागि राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद बढीमा चार पटक हुन पाउने गरी प्रतिवेदन बैठकमा छलफलका लागि पेश गरेका थिए । बैठकमा आरजु देउवा राणाले भनिन् ‘प्रधानमन्त्री कति पटक हुने भनेर पार्टीले तोक्ने होइन । प्रधानमन्त्री कति पटक बन्न पाउने भन्ने विषयमा कुनै प्रावधान पार्टीको विधानमा नै राख्नु पर्दछ भन्ने मलाई लाग्दैन । यो त अनुभव, काम तथा उसको प्रभावकारिताका आधारमा हुने हो ।’ राणाले प्र्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला उम्मेदवारी गर्ने गरी पार्टीले नीति बनाउनु पर्ने धारणा राखिन्
मिसन–८४ मा केन्द्रीत हुन ओलीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री भएपछि थप हौसिएका एमाले अध्यक्ष केपी ओलीले अबको निर्वाचनमा पार्टीले बहुमत प्राप्त गर्ने गरी मिसन–८४ मा केन्द्रीत कार्ययोजना बनाउन निर्देशन दिएका छन् । केन्द्रीय सचिवालय बैठकले गरेको केन्द्रीय सदस्यहरुको कार्यविभाजनसहितको पछिल्लो निर्णयलाई अन्र्तपार्टी निर्देशन९अपनि० जारी गर्दै ओलीले देशभरका सबै कमिटिलाई त्यस्तो कार्ययोजना बनाउन निर्देशन दिएका हुन् । तीनवटै तहको सरकारमा महत्वपूर्ण सहभागिताले स्थानीय तहको काममा समेत अनुकूलता थपिएको भन्दै उनले तीनवटै तहका जनप्रतिनिधिको कामलाई योजनाबद्ध रुपमा अघि बढाउन भनेका छन् । केन्द्र र प्रदेश सरकारमा हाम्रो महत्वपूर्ण सहभागिताले स्थानीय तहको काममा समेत अनुकुलता प्राप्त भएको छ । अब मिसन–८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिनिधिको कामलाई योजनाबद्ध रुपमा अघि बढाउनु
पर्दछ । ओलीको निर्देशनमा भनिएको छ ।
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले पार्टीलाई बलियो र निर्णायक शक्तिका रुपमा स्थापित गर्ने संकल्प गरेको छ । पार्टीको समग्र कामलाई पनि सोही उद्देश्य अनुरुप अघि बढाउनु पर्दछ । स्थानीय कमिटिका अधिवेशनहरु सम्पन्न भएसँगै अब सिंगो पार्टीको ध्यान निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प पुरा गर्ने दिशामा केन्द्रीत हुनुपर्छ ।
बलात्कार घटनाका दोषीलाई सजाय छुट हँदैन ः गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सशस्त्र युद्धका बेला भएका बलात्कार घटनाका दोषीलाई सजाय छुट नहुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले बलात्कारका दोषीले सजाय छुट नपाउने बताए । बलात्कारमा सजाय कम हुँदा समाजमा नकारात्मक सन्देश जाने उनको भनाइ थियो ।
‘जहिले भएको भए पनि बलात्कार बलात्कार नै हो’ उनले भने, ‘त्यसमा सजाय कम हुँदैन ।’ लेखकले संक्रमणकालीन न्यायका विषयमा भएको सहमतिमा असहमत हुनुपर्ने कारण नरहेको स्पष्ट गरे ।
‘योभन्दा राम्रो के गर्न सकिन्छ ? कति अलमलिने ? कति रोकिने ? ।’ संक्रमणकालीन न्यायसम्बन्धी कानून कार्यान्वयन चुनौतीपूर्ण रहेकाले सिंगो मुलुक एकै ठाउँ उभिनुपर्नेमा जोड दिए ।
निस्वार्थ भावनाकासाथ गरेको काम सहयोग पूर्ण हुन्छ ः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानीमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निस्वार्थ भावनाका साथ गरेको काम नै सहयोग भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित लायन्स इन्टरनेसनलको जिल्ला पदस्थापना समारोहमा उनले अरुलाई देखाउनको लागि गरिने काम सहयोग नभएको भन्दै परोपकारी, मानवता र इमानको भावका साथ सहयोग गर्नुपर्ने बताए ।
उनले भने, ‘कसैले देख्यो कि देखेन भनेर सानो सहयोग गरेर फोटो खिचेर सामाजिक सञ्जालमा राखेर गरेको काम सहयोग होईन् । परोपकारी, मानवता र इमानको भावका साथ सहयोग गर्नुपर्छ । तपाईहरुले यो सेवाभावका साथ जुन काम गरिरहनु भएको छ, त्यसमा म तपाईहरुको साथमा छु । अर्थात अहिलेको सरकार लायन्सहरुको साथमा छ ।’
उनले यो संस्थाले सेवा दिने क्रममा कसैको जात, देश, धर्म केही नसोध्ने भन्दै सबैलाई सद्भाव र समृद्धिको भावले यसले सहयोग गर्ने बताए ।
उनले भने, ‘समाज सेवाले जात सोध्दैन, देश सोध्दैन, धर्म सोध्दैन । सबैलाई सद्भाव र समृद्धिको भावले सहयोग गर्नुपर्दछ । यो एकदमै राम्रो काम हो यो राष्ट्रको पक्षमा छ ।’
यसको साथै, देश राम्रो छ तर मानव र समाज नै विग्रिएको भन्दै आजको अवस्थामा मानवताको आवश्यकता भएको पनि उनको भनाई छ ।
उनले भने, ‘नेपाल विग्रिएको छ, हाम्रै कारणले हो । प्रकृति कति राम्रो छ हेर्नुस् न हाम्रो नेपालमा । यत्ति राम्रो देश संसारमा पाइदैन, त्यस्तो राम्रो छ हाम्रो यो देश ।
विग्रिएको नेपाली समाज हो । मान्छे मार्नका लागि आज मान्छेले हतियार बनाएको छ । अनेकौं पटक पृथ्वी ध्वस्त हुनेगरि हतियार बनाउन विश्व आज प्रतिस्पर्धा गरिरहेको छ । त्यसैले आज मानवताको आवश्यकता छ । आउँदा दिनमा मानवता र धर्तीको रक्षाको सुनिश्चितता हुनुपर्दछ ।’









