काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका लागि म्यादी चुनावी प्रहरीको भर्ना खुलाएको छ । सबै राजनीतिक दल चुनावमा होमिएसँगै निर्वाचन हुने पक्कापक्की भएपछि र चुनावी वातावरण पनि राम्रो हुँदै गएपछि नेपाल प्रहरीले चुनावी प्रयोजनका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन९म्यादी० प्रहरीको भर्ना खुलाएको हो । प्रहरी प्रधान कार्यालयले १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले पौष २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म दरखास्त दिन सकिने सूचना जारी गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्व सुरक्षाकर्मी वा पूर्व नवरक्षक तथा सुरक्षा संगठनमा गत माघदेखि पुष मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परिक्षण उत्तीर्ण भएका व्यक्तिलाई निर्वाचन प्रहरीका रुपमा छनौट गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै म्यादी प्रहरीका रुपमा भर्ना भई सन्तोषजनाक काम गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्र सुरक्षा निकायमा गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई निर्वाचन प्रहरीमा छनौट गरिने प्रहरी नायब महानिरिक्षक अभिनारायण काफ्लेले बताए ।
नेपाली प्रहरीका अनुसार माघ ५ देखि ९ गतेसम्म आवेदक मध्येबाट प्रारम्भिक छनौट गरी अन्तिम नतिजा १२ माघमा प्रकाशित गर्ने कार्यतालिका रहेको छ । त्यस्तै १५ माघ देखि २४ माघसम्म निर्वाचन प्रहरीलाई तालिम तथा प्रशिक्षण दिने बताइएको छ । निर्वाचन प्रहरीले प्रहरी जवानको सुरु तलब स्केल सरह प्रतिदिन ८९६ रुपैयाँ ४० पैसाका दरले ४० दिनेको ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । खाद्यान्न रकम पनि सम्बन्धित जिल्लाको प्रहरीले पाए सरह बैंक खातामा जम्मा गरिदिने प्रवक्ता काफ्ले जानकारी दिए ।









