Page 4

प्रभु बैको नबिनतम् सेवा डिजिटल क्युब सञ्चालनमा

काठमाडौं । अंग्रेजी नयांँ बर्ष २०२५ को शुरुवातसंगै प्रभु बैंकले बिद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ ।
उक्त काउण्टर मार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा विभिन्न किओस्क मेशिनको माध्यमवाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने ब्यवस्था मिलाइएको छ ।
यस सेवाको शुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ । हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिनेछ ।
साथै यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

आज बस्नेएमाले सचिवालय बैठकले कमिटीका एजेण्डा र राजनीतिबारे छलफल गर्ने

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो १ बजे बस्न लागेको हो ।
आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।
एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ ।

सूर्यदर्शन सहकारी ठगी आरोपमाआज पीडितका कानून व्यवसायीले बहस गर्ने

काठमाडौं सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपीको थुनछेक बहस कास्की जिल्ला अदालतमा बिहीबार पनि जारी रहने भएको छ । न्यायाधीश नितिज राईको इजलासमा हिजो सरकारी वकिलले बहस सकेपछि आजदेखि जाहेरवाला सहकारी पीडितका कानून व्यवसायीले बहस गर्दैछन् ।
जाहेरवालाका तर्फबाट बहस गर्न १२ जना कानुन व्यवसायीले वकालतनामा पेश गरेको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। सबैले बहस नगर्न पनि सक्ने भएकाले जाहेरवालाको बहस सकिए प्रतिवादीका तर्फबाट कानून व्यवसायीले बहस शुरु गर्नेछन् ।
प्रतिवादीका तर्फबाट बहस गर्नका लागि बुधबारसम्म वरिष्ठ अधिवक्तासहित १५ कानून व्यवसायीले वकलतनामा बुझाएको श्रेस्तेदार खनालले बताए। शुक्रबार र आइतबार प्रतिवादीका तर्फबाट बहस सकिए सोमबार जवाफी बहस हुन सक्ने र चाँडोमा सोमबार नै थुनछेक आदेश हुन सक्ने उनले जानकारी दिए।

रविलगायतले थुनामै पठाउनुपर्ने कसुर गरेको सरकारी वकिलको दावी, भोली बिहीवार जाहेरवालाका तर्फबाट बहस हुने

काठमाडौँ , सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित ७ जनाविरूद्ध परेको मुद्दामा सरकारी वकिलले बहस सकेका छन्। यस सँगै भोली जाहेरीवालाको तर्फबाट बहस हुनेछ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा जारी थुनछेक बहसअन्तरगत आज सरकारी वकिलका तर्फबाट बहस सकिएको हो। बुधवार नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरे।

थुनछेक बहसमा सरकारी वकिलहरूले सूर्यदर्शन सहकारीमा सर्वसाधारणले राखेको बचत रकम गोर्खा मिडिया नेटर्वक प्रालि, नेचर हर्ब्स इन्टरनेसनल लगायत कम्पनीमा लगेर अपचलन गरेको भन्दै प्रतिवादीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए।
आरोपीहरूको बयानपछि मंगलवारदेखि थुनछेक बहस सुरू भएको हो। मंगलवार सहायक जिल्ला न्यायाधिवक्ता शर्मा र सुजाता पौडेलले बहस गरेका थिए।
सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, पूर्वसांसद मीना गुरुङ, आरति गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध पुरक मुद्दा दर्ता भएको थियो।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

रविविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएको छ। गत कात्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई बयानका लागि रुपन्देही, काठमाडौँ, चितवन र पर्सा पनि लगिएको थियो।
सरकारी वकिलको बहस सकिएसँगै अब बिहीवार जाहेरवालाका कानुन व्यवसायीले बहस गर्नेछन्। जाहेरवाला सहकारी पीडितका कानुन व्यवसायीले बहस गरेपछि प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। जानकारी अनुसार प्रतिवादीका तर्फबाट सबैभन्दा पहिला पूर्वडिआइजी छविलाल जोशीका कानुन व्यवसायीले बहस गर्नेछन्। त्यसपछि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने तयारी भएको छ।

सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी संचालकलगायत व्यक्तिविरूद्ध शुरुमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ।

नक्कली सुकुम्बासी बनेर लिएको जग्गा जफत र कारबाही हुने मन्त्री अधिकारीको भनाई

काठमाडौँ , भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जग्गाधनी भएकै अवस्थामा सुकुम्बासी बनेर पुनः जग्गा लिने जो कोहीमाथि कारबाही हुने स्पष्ट पारेका छन्।
प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा ‘भूमि समस्या समाधान’सम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले त्यस्तो व्यक्तिले सुकुम्बासीका नाममा प्राप्त गरेको जग्गा जफत गरी कारबाही गरिने बताए।
“अहिले जग्गा जमिन कहाँ, कस्तो छ, सबै ‘डिजिटलाइज प्रणाली’मा राख्ने काम भइरहेको छ, व्यक्तिको देशभर कति जग्गा छ भनेर निकाल्न सक्ने प्रविधिको विकास भएको छ”, सुकुम्बासी पहिचानसम्बन्धी प्रक्रियाबारे जानकारी दिँदै मन्त्री अधिकारीले भने, “कुनै व्यक्तिले अन्त जग्गा भएर झुक्याएर आयोगबाट जग्गा लिएको रहेछ भने उक्त जग्गा जफत र कारबाही हुन्छ।”
सरकारबाट जग्गा लिने र बिक्री गर्ने प्रवृत्ति अब अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। मन्त्री अधिकारीले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबाससम्बन्धी समस्या समाधान गर्न भूमि समस्या समाधान आयोगले प्रक्रिया थालनी गरिसकेको स्पष्ट पारे।
“आयोग देशभरी बन्छ, तर त्यो आयोगको कार्य क्षेत्र र कार्यावधि फरक हुन्छ”, उनले भने, “मन्त्रालयले आयोगको सीमा तोकिसकेको छ।”
विगतका आयोगले गरेका कामलाई निरन्तरता दिँदै वितरण भएका लालपूर्जाको स्रेष्ता कायम गरी अघि बढिने उल्लेख गर्दै उनले जिल्ला आयोग गठन भएर काम थालनी भएपछि निश्चित अवधि थप गरेर मापदण्ड बनाइने र सो अवधिमा भरिएका फारमलाई अन्तिम मानिने बताए।
“एक हजारभन्दा कम निवेदन परेको जिल्लाको हकमा एक वर्ष कार्यवधि तोकिनेछ, पाँच हजारसम्म दुई वर्ष र पाँच हजार भन्दा बढी निवेदन परेको जिल्लाको कार्यविधि तीन वर्ष कार्यावधि कायम गरिएको छ”, मन्त्री अधिकारीले भने।
हालसम्म भूमि समस्या समाधान आयोगमा १० लाख ९६ हजार ६ सय ७९ भूमिहीनको सङ्ख्या प्रविष्ट भएको छ। त्यसमध्ये भूमिहीन दलितको सङ्ख्या ८७ हजार नौ सय ९५, भूमिहीन सुकुम्बासीको सङ्ख्या एक लाख ६६ हजार ६० र भूमिहीन अव्यवस्थितको सङ्ख्या आठ लाख ४२ हजार छ सय १५ रहेको छ।

 

ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक भोली देखी निरन्तर सेवाको १८ वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ । लिमिटेडले यस अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।
उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ । शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर भीआईए परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।
बैंकले सबै प्रदेशहरुमा यहि पौष महिनामा उक्त शिविरहरु संचालन गर्नेछ । जस अन्तर्गत बैंकले बागमती प्रदेशमा हेटौंडा उपमहानगरपालिका वडा नं ११ मकवानपुरस्थित सरस्वती टोल हलमा पौष १८ गते विहिबार, मधेश प्रदेशमा कलौया उपमहानगरपालिका वडा नं. १, बारास्थित राजदेवी मन्दिर हल, गण्डकी प्रदेशमा मोदी गाँउपालिका वडा नं. १ पर्वतस्थित भुक स्वास्थ्य चौकीमा पौष २० गते शनिबार, कोशी प्रदेशमा विराटनगर महानगरपालिका वडा नं. १२, मोरङस्थित आधारभुत स्वास्थ्य चौकी, बर्खी टोलमा पौष २१ गते सोमबार, लुम्बिनी प्रदेशमा शैनामैना नगरपालिका वडा नं। ११, रुपन्देहीस्थित परिवार नियोजन संघको क्लिनिक, सालझन्डीमा पौष २३ गते बुधबार, कर्णली प्रदेशमा विरेन्द्रनगर नगरपालिका वडा नं। २ सुर्खेतस्थित दौलाटपुर स्वास्थ्य चौकीमा पौष २६ गते शनिबार र सुदूरपश्चिम प्रदेशमा गोदावरी नगरपालिका वडा नं.८ कैलालीस्थित स्याउले आधारभुत स्वास्थ्य चौकीमा पौष २८ गते सोमबार निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने तयारी रहेको छ ।
स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

बीमा प्राधिकरण पनि भोलीका दिनमा नेपाल राष्ट्रबैक जस्तै नियामक निकायकारुपमा हुन्छः  अध्यक्ष मदन दहाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमाप्रति जनताको विश्वास जगाउनेगरी काम गर्न सक्नु पर्ने बताएका छन्
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले समस्या परेको समयमा बीमाले सहयोग गर्छ भन्ने विश्वास जनतालाई दिलाउनु पर्ने उनको भनाईछ ।
उनले भने, ‘बीमाको दायरा बढाउनको लागि पहिलो कुरा बीमा गरेर के फाइदा हुन्छ भन्ने बारे जनचेतना फैलाउनु हो भने दोस्रो कुरा समस्या परेको समयमा बीमाले सहयोग गर्छ भन्ने विश्वास दिलाउनु पर्छ ।’
यसको साथै, उनले भविष्यमा बीमा प्राधिकरणक पनि राष्ट्र बैंक जस्तै नियामक निकाय बन्ने भन्दै त्यो लाइनमा नेपाल सरकारको सोच रहेको बताए ।

उनले प्रश्न गरे, ‘तपाईहरुले राष्ट्र बैंक जस्तो नियमन बीमा प्राधिकरणकमा अहिले खोजेर हुन्छ ? बीमा प्राधिकरणक बीमा समितिबाट हुदैँ बल्ल बीमा ऐन आएर नियमावली अहिले मन्त्रिपरिषद्मा छ । नेपाल राष्ट्र बैंक कहिले सुरु भएको त्यसको क्षमता, कार्यक्रमहरु हेर्ने हो भने हामी विस्तारै बामे सर्दै छौ ।
कालन्तरमा हुने त्यही नै हो । बीमा प्राधिकरणक पनि भोलीका दिनमा राष्ट्र बैंक जस्तै नियामक निकायको रुपमा हुन्छ । त्यो लाइनमा नेपाल सरकारको सोच छ । विस्तारै जिल्ला जिल्लामा जाने समय पनि आउछ ।’

 

आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाईयो

काठमाडौँ । आज जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाईयो ।
‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाएका हुन्। नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्। सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ। बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो। दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ।
नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ। औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन्। यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

ग्रेगोरियन पात्रो अनुसार आजदेअी इस्वी संवत्‌ २०२५ को सुरुआत

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्‌को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।
विदेशी पर्यटकको भिडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा आज विशेष कार्यक्रम भएको छ ।

सुदामा ताजा समाचार

रौतहटमा शीतलहर ः जनजीवन प्रभावित, विद्यालयहरू धमाधम बन्द

गौर ,रौतहट दगायत तराई–मधेशका जिल्लाहरुमा लगातार २ दिनदेखि चलेको शीतलहरले जनजीवन प्रभावित भएको छ।बाक्लोशीतले सर्वसाधारणलाई घरबाहिर निस्किन कठिन बनाइएको हो। मंगलवार विहान गएको भुइँचालोअगाडि मौसम...

आगामी माग ५ गते ललितपुरको जावलाखेलमा बाईरो च्याम्पीयन डग शो आयोजना...

काठमाडौँ । नेपालमा तेस्रो पटक कुकुर नस्ल सुधार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम गुणस्तरीय कुकुर उत्पादन गर्ने उद्देश्यले केनेल क्लब अफ नेपालले बाइरो...

रिलायबल नेपाल लाइफद्वाराघातकरोगबापत रु १५ लाख दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स मणिग्राम रुपन्देही शाखाले घातक रोगबापत दाबी भुक्तानी गरेको छ । कम्पनीले मणिग्रामवासी बिमित अमृत खनाललाई घातक रोगबापत १५ लाख...

कर्णाली रंगशालाको काम अन्तिम चरणमा ः प्रधानमन्त्री ओली

काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन कर्णाली रंगशालाको काम अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे...

माओवादी केन्द्रद्वारा संघीय संसद बैठक बोलाउन माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले संसद छलेर दल फुटाउने अध्यादेश ल्याउन खोजेको भन्दै संघीय संसदको बैठक बोलाउन माग गरेको छ । पेरिसडाँडास्थित पार्टी...