Page 14

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

फिक्कल (इलाम),  चैत ५ गते ।  इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र  आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन् ।

स्थानीयको संरक्षणपछि विस्तार भएको तेह्रकुने पोखरीमा पूर्वाधार विकाससँगै इलाम, झापा, मोरङलगायत  जिल्लाका पर्यटक सिमसार र पोखरी र अलोलकन गर्न आउने गरेको सिमसार संरक्षण समितिका अध्यक्ष करसिंह राई बताउनुहुन्छ । पोखरीमा डुङ्गा सञ्चालन गरेपछि पर्यटक आउन थालेका उहाँले बताउनुभयो ।

समितिले पोखरीमा दुईवटा डुङ्गाको व्यवस्था गरेको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुङ्गा चलाउन थालिएको समितिका अध्यक्ष राईले बताउनुभयो । “पोखरीमा डुङ्गा चलाउन सुरु गरेसँगै यहाँ पर्यटकको आगमनमा वृद्धि भएको छ, अन्य ठाउँमा पोखरी सुक्दै गइरहेको भए पनि यो पोखरी दिनानुदिन फस्टाउँदै गएको छ”, अध्यक्ष राईले भन्नुभयो, “डुङ्गाबाट पोखरीको सबै क्षेत्र घुम्न सकिन्छ, यस क्षेत्रमा नौलो कार्यक्रम भएकाले स्थानीयसँगै टाढाबाट पनि रमाइलो गर्न आउने बढेका छन् ।” पर्यटक प्रतिव्यक्ति रु एक सयको टिकट काटेर नौका विहारमा रमाउने गरेका छन् ।

तेह्रकुने सिमसार र पोखरी अवलोकनका लागि दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका स्थानीय  पर्वत राईले बताउनुभयो । “शनिबार र सार्वजनिक बिदाका अन्य दिन पोखरी घुम्न आउने पर्यटकको भीडभाड हुने गरेको छ, पोखरी घुम्न आउने पर्यटकले यस क्षेत्रको चहलपहल बढेको छ”, उहाँले भन्नुभयो, “सिजनको बेला वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका छन् ।”

तेह्रकुने सिमसार क्षेत्र पुग्ने सडक विस्तारसँगै पर्यटकलाई सहज भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तेह्रकुने सिमसार क्षेत्रलाई थप व्यवस्थित गरिने अध्यक्ष राईले बताउनुभयो । इलाम सदरमुकामबाट ३४ किलोमिटर दक्षिणमा पर्ने तेह्रकुने सिमसार क्षेत्र स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियाताका कारण आकर्षक गन्तव्यका रुपमा विकास भएको हो ।

विगत एक दशकदेखि स्थानीयले संरक्षण गरेको सिमसार क्षेत्र करिब तीन सय रोपनी क्षेत्रमा फैलिएको छ । सिमसार क्षेत्र तीन सय रोपनी भएपनि पोखरी क्षेत्र भने एक सय रोपनीमा सीमित छ । नागबेलीजस्तो देखिने १३ वटा कुना भएकाले यसको नाम तेह्रकुने राखिएको अध्यक्ष राईले बताउनुभयो ।

वरिपरिको हरियाली, डाँडाकाँडा र वनजङ्गलले पोखरीको सौन्दर्य थपेको छ । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि यो ठाउँ साँच्चै आकर्षक छ । विशेष गरी आदिवासी राई समुदायको बसोबास रहेको यो क्षेत्रमा उनीहरूको सांस्कृतिका बारेमा पनि जान्न सकिन्छ ।

मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको शपथ

महेन्द्रनगर (धनुषा),  चैत ५ गते ।  मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सो अवसरमा मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले डा. साहको कार्यकाल अब्बल र सोचेभन्दा राम्रो होस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

मनकामना केबलकार एक दिनका लागि बन्द हुने

मुग्लिन (चितवन), ५ चैत : यहाँस्थित मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी विसं २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो । मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

प्रतिनिधिसभाः सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ, ५ चैत: प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका सम्बन्धमा निष्पक्ष छानबिनको विश्वास दिलाउन सरकारसँग माग गरेको छ ।

आजको बैठक आरम्भ हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सो पार्टीका महामन्त्री गगनकुमार थापालाई बोल्न समय दिनुभयो । महामन्त्री थापाले सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान भई कानुनी कारबाही हुनुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीसम्बन्धी विवादमा मुछिनुभएकाले उहाँ पदमा रहन उपयुक्त नहुने थापाको भनाइ थियो ।

नेता थापाले उपप्रधानमन्त्री लामिछानेसमेत सूर्यदर्शन र सुप्रिम सहकारीको विवादमा तानिएकाले विवादको छानबिन नहुँदासम्म उहाँलाई मन्त्री बनाउन नहुने तर्क गर्नुभयो । “उहाँ दोषी हो÷होइन हामीलाई थाहा छैन । भोलि छानबिनले प्रमाणित गर्ला तर जो आफैँ मुछिएको छ । उसले कसरी निष्पक्ष अनुसन्धान गर्छ भन्ने प्रश्न उठेको छ”, उहाँले भन्नुभयो, “सहकारीबाट ठगिएकाहरुको पैसा फिर्ता गराउन हामीले सहज वातावरण गर्नुपर्छ । त्यो वातावरण बनाउनेबारे हामीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ चाहिएको छ ।”

उहाँले सदन चलोस् भन्ने आफूहरुको चाहना भएको तर आफूहरुले उठाएको प्रश्नको जवाफ नआएकाले चिन्ता बढेको बताउँदै सुन तस्कारीका घटनामा शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च रहेछ भन्न यसअघिका प्रतिपक्षका आरोप सही नहोस् भन्ने पनि ध्यानाकर्षण गराउनुभयो ।

महामन्त्री थापाले बोलेपछि सभामुख घिमिरेले सदनमा उठेका विषयमा सरकारको ध्यानाकर्षण भएको होला भन्ने विश्वास व्यक्त गर्दै आफ्नो पनि ध्यानाकर्षण भएको बताउनुभयो ।

पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

गण्डकी, ५ चैत : “प्राकृतिक सांस्कृतिक, तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु”, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरुपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा समारोहस्थलमा तालीको गडगडाहड गुञ्जिएको थियो । उसो त पोखरेलीले हिजो आइतबार बिहानैदेखि उत्सव मनाइरहेका थिए ।

आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवाताल छेउ बाराहीघाटमा उल्लासको माहोल छाइरहेको थियो । पोखरालाई पर्यटकीय राजधानी बनाउने वर्षौँअघिदेखिको सपना पूरा हुँदा पोखरेलीहरु खुसीले गद्गद् थिए । एकापसमा बधाई साटिरहेका देखिन्थे ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा थियो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक उक्त घोषणाका लागि सङ्घ सरकारलाई औपचारिक प्रस्ताव गर्दै आएको थियो । प्रदेश सरकारले गत मङ्सिर १२ गते अध्ययन समिति बनाएर काम थालेपछि पर्यटकीय राजधानी घोषणाको योजनाले मूर्त रुप पाएको हो । प्रधानमन्त्री प्रचण्डले आइतबार आयोजित भव्य समारोहका बीच उक्त घोषणा गर्नुभएको हो ।

त्यस क्रममा उहाँले पोखरा प्राकृतिक, सांस्कृतिक तथा साहसिक वैभवको सङ्गमका रुपमा रहेको बताउनुभयो । “विशिष्ट पहिचान बोकेको पर्यटकीय नगरी पोखरालाई मुलुककै पहिलो पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न पाउँदा विशेष गर्व र हर्षको महशुस भएको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “यो घोषणाले पोखरा मात्र नभएर, गण्डकी प्रदेश र सिङ्गै देशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास मैले लिएको छु ।”

उहाँले बहुआयमिक विशेषता र सम्भावनाले भरिएको पर्यटकीय राजधानी पोखराको समग्र विकासमा सङ्घ सरकारको विशेष सहयोग, समन्वय र सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो । यसअघि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित ११ सदस्यीय अध्ययन समितिले गत पुस २६ गते प्रतिवेदनसहित पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारलाई सिफारिस गरेको थियो ।

पर्यटन विज्ञसहितको उक्त समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आवश्यक मापदण्ड पूरा भएको औँल्याएपछि उक्त घोषणा गरिएको हो । समितिले पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास र विविधीकरण, मापदण्ड, सेवाको गुणस्तरलगायत २० सूचकमा टेकेर अध्ययन गरी प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको थियो । सोही आधारमा गत फागुन २३ को मन्त्रिपरिषद् बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो ।

अध्ययन प्रतिवेदनले तीन वर्षे, पाँच वर्षे र दीर्घकालीन योजनालाई समेटेको आयोगका उपाध्यक्ष डा देवकोटाले जानकारी दिनुभयो । अल्पकालीन रणनीतिअन्तर्गत पूर्वाधार विकास तथा विस्तार, सांस्कृतिक सम्पदाको प्रवद्र्धन र ‘ब्राण्डिङ’ तथा बजारीकरणमा जोड दिइएको उहाँको भनाइ छ ।

मध्यमकालीन रणनीतिका रुपमा पाँच वर्षभित्र गर्नुपर्ने कामलाई प्रतिवेदनलाई औँल्याएको डा देवकोटाले बताउनुभयो । “विशिष्कृत पर्यटन विकास, बसोबासका विकल्पको विविधीकरण र व्यावसायिक जनशक्तिको उपलब्धतालाई मध्यमकालीन रणनीतिमा समावेश गरिएको छ”, उहाँले भन्नुभयो, “दीर्घकालीन रणनीतिमा दिगोपन र समावेशीता, विद्युतीय पर्यटनलगायत विषय समेटिएको छ ।”

डा देवकोटाले पर्यटकीय राजधानी घोषणा सँगैसँगै पर्यटन क्षेत्रको योजनाबद्ध विकासमा सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । “गण्डकी प्रदेशको समग्र विकासमा पर्यटन महत्वपूर्ण हिस्सा बन्न सक्छ”, उहाँले भन्नुभयो, “पर्यटनको राजधानी घोषणा गरेर मात्र हुँदैन, पूर्वाधार, सेवाको गुणस्तर, दक्ष जनशक्ति र लगानी विस्तारमा सम्बद्ध सबै पक्षको ध्यान जान जरुरी छ ।”

पर्यटकीय राजधानी घोषणालाई लिएर फरक कोणबाट समेत टिप्पणी भइरहेको छ । यथेष्ठ पूर्वाधार तयार नभई गरिएको घोषणा दिगो हुन नसक्ने र नागरिकले प्रतिफल नपाउने कतिपयको बुझाइ छ । पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ त ? पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुने बताउनुभयो । पोखरेली पर्यटन व्यवसायीहरुको वर्षौँदेखिको माग पूरा भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।

“पोखरा यसै पनि पूर्वाधार सम्पन्न पर्यटन गन्तव्य हो, पर्यटकीय राजधानी घोषणाले पोखराको समग्र विकासमा थप मद्दत पुग्छ, तीनै तहका सरकारको वार्षिक बजेट तथा कार्यक्रममा प्राथमिकता पाउने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो, “यो घोषणाले पोखरा मात्रै नभएर सिङ्गो देशकै आर्थिक समृद्धिमा दूरगामी महत्व राख्छ ।”

पर्यटकीय राजधानीको ओज र गरिमा धान्न पोखरा सक्षम रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान र चीनसँगको कोरला नाका नियमित सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “कोरला नाका खुलेमा व्यापार र पर्यटनबाट नेपालले नसोचेको फाइदा लिन सक्छ, कैलाश मानसरोबर जाने पर्यटकलाई पनि मुस्ताङ हुँदै लैजान सकिन्छ, यो मार्ग छोटो पर्छ”, उहाँले भन्नुभयो । अहिले पनि बर्सेनि भारतीयसहित हजारौँ विदेशी पर्यटक मुस्ताङ पुग्छन् । मुक्तिनाथ विश्वभरका हिन्दू धर्मावलम्बीहरुमाझ प्रसिद्ध छ । उहाँका अनुसार पोखराको पर्यटनमा खर्बौँको लगानी छ । साधारणदेखि पाँच तारेसम्म गरी झण्डै १२ सय होटल पोखरामा सञ्चालित छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय राजधानी घोषणाले गण्डकी प्रदेश र नेपालको पहिचान अन्तर्राष्ट्रिस्तरमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “पर्यटकीय राजधानी घोषणाले पर्यटन व्यवसायीमा उत्साह र उर्जा थपिनेछ, पोखरामा बाह्य तथा आन्तरिक लगानीको वातावरण बन्नेछ”, उहाँले भन्नुभयो, “पोखराको समुन्नतिका लागि तीन तहका सरकार, निजी क्षेत्र र विकास साझेदारसँगको सहकार्य थप प्रभावकारी हुनेछ ।”

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार र पोखरा महानगरपालिकाबीचको सहकार्यमा पर्यटन प्रवद्र्धनमा नयाँ योजना सञ्चालन गरिने बताउनुभयो । आइतबारदेखि नै पोखराको मुख्य सहरी क्षेत्रमा सञ्चालित रात्रिकालीन व्यवसायलाई चौबिसै घण्टा सञ्चालन गर्ने प्रबन्ध गरिएको उहाँको भनाइ छ । “राउण्ड पेवा र भ्यू फेवामो ट्रेकिङ ट्रेल छिट्टै बन्दैछ, बेगनास तालमा ‘क्रुज सिप’को सञ्चालनको योजना अगाडि बढेको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “आधुनिक बसपार्क निर्माण, विमानस्थलदेखि पृथ्वीचोकसम्म सटल बस सेवा, ध्यान केन्द्रलगायत निर्माण गर्दैछौँ ।”

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन राजधानी घोषणाले यस क्षेत्रका नागरिकको जीवनस्तर सुधार, रोजगारी सिजर्ना र गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आचार्यले तीन तहका सरकार मिलेर पोखरामा पर्यटनका थप पूर्वाधार निर्माण गरिने बताउनुभयो । “विश्वका विभिन्न सहरलाई आफ्नै विषेशता र पहिचानका आधारमा राजधानी घोषणा गर्ने अभ्यास र परम्परालाईसमेत दृष्टिगत गरेर हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हौँ”, उहाँले सुनाउनुभयो ।

विद्यमान सबल पक्ष, सुधार गर्नुपर्ने विषय र आगामी कार्यदिशाबारे तथ्यगत र वस्तुगत विश्लेषण गरी पोखरालाई पर्यटकीय राजधानी घोषण गरिएको प्रमुख आचार्यले बताउनुभयो । “यो घोषणाले तीनै तहका सरकारलाई नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिन बल थप बल पु¥याउनेछ”, उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार, पूर्वाधार विकास र सुशासनका क्षेत्रमा रणनीति र कार्ययोजना तय गरेर अगाडि बढ्छौँ ।”

यी हुन् पर्यटकीय राजधानी घोषणाका आधार

पर्यटकीय गतिविधि, सहज पहुँ, पर्यटकीय सुविधा, जागरुक निजीक्षेत्र र पर्यटनमैत्री कानूनी संरचनालाई आधारभूत पूर्वसर्त मानेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकिने पर्यटन क्षेत्रका विज्ञ बताउँदै आएका थिए । हिमाल र तालतलैयाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जी जम्प, केबुलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सलगायत पोखराका पर्यटकीय गतिविधिमा पर्छन् । उत्तरपट्टि लहरै देखिने हिमशृङ्खला पोखराका मुख्य आकर्षण हुन् । तालतलैयाको सहरको उपमा पनि पोखरालाई दिइन्छ ।

फेवा, बेगनास, रुपालगायत मनमोहक ताल यहीँ पर्छन् । प्राकृतिक, भौगोलिक र साँस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा सुसज्जित छ । प्राचीन कला, सभ्यता र सांस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ पोखरा । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन् । साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ ।

पर्यटकस्तरका पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास पर्यटन (होमस्टे), सुविधायुक्त रेष्टराँ, कफी शप, बार, लाउन्ज बार, सभा–सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा छन् । हवाई र सडक दुवै मार्गबाट सहज रुपमा पोखरा आउजाउ गर्न सकिने सुविधा छ ।

पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतको यातायात सेवा पोखरामा उपलब्ध छ । पर्वतारोहण र पदयात्रामा निस्कने पर्यटकका लागि चाहिने उपकरण, पोशाक आदि किनमेलका लागि पसल र डिपार्टमेन्टल स्टोर पनि पर्याप्त रहेका छन् । बैंक, एटीएम सेवा, विदेशी मुद्रा सटहीका लागि काउण्टर उपलब्ध छन् । सङ्कटमा परेका पर्यटकको उद्धार र राहतका लागि हेलिकप्ट सेवासहित स्तरीय अस्पताल पोखरामै सञ्चालित छन् ।

पर्यटकहरुको सेवाका लागि सञ्चालित ट्राभल्स एजेन्सी, ट्रेकिङ एजेन्सीलगायत व्यावसायिक सङ्गठनहरु क्रियाशील छन् । पर्यटन क्षेत्र हेर्ने राज्यका निकाय पनि पोखरामै केन्द्रित छन् । प्रदेश सरकारमा छुट्टै विभागीय मन्त्रालय छ । पर्यटनका यिनै प्रचुरताका कारण पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने आवाज उठ्दै आएको थियो । कोभिड–१९ महामारीअघि नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधा पर्यटकले पोखरा घुम्ने गरेको सरकारी तथ्याङ्कले देखाउँछ ।

आन्तरिक पर्यटनको पनि ठूलो हिस्सा पोखराले ओगट्छ । बर्सेनि करिब १० लाख आन्तरिक पर्यटकले पोखरा घुम्ने गरेको अनुमान गरिन्छ । कोभिड–१९ महामारीयता पर्यटक आगामनको औपचारिक तथ्याङ्क भने कुनै निकायसँग पनि छैन । फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा बामे सरेको पोखरा ७४ वर्षको दौरानमा पर्यटकीय राजधानी बन्न सफल भएको छ ।

पोखरा आउँदा कहाँकहाँ घुम्ने ?

प्रदेश राजधानीसमेत रहेको पोखरा आउने पर्यटकले आसपासका जिल्लामा रहेका गन्तव्यमासमेत पुग्ने गरेका छन् । पोखरामा फेवाताल, बेगनासताल, रुपाताललगायत गरी विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन् । पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन् । हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्व शान्ति स्तुपा, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन् ।

पोखरादेखि दुई घण्टाको दुरीमा पर्ने बागलुङका गन्तव्यस्थल पनि पर्यटकको रोजाइमा पर्ने गरेका छन् । त्यहाँ कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष, विश्वशान्ति सर्वसिद्धीधाम पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुण्डे, गाजाको दहलगायत छन् ।

तिलिचो ताल, अन्नपूर्ण पदमार्ग जस्ता प्राकृतिक सम्पदा, हिमाजी जनजीवन र संस्कृतिका कारण मनाङ पर्यटकको रोजाइमा पर्छ । हिमालपारिको जिल्ला मुस्ताङमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, प्राचीन गुफा, कलाकृति, ढुम्बा ताल, कागबेनीलगायत चर्चित गन्तव्यस्थल छन् । म्याग्दी पनि प्राकृतिक पर्यटनका दृष्टिबाट अगाडि छ । धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से छहरा, अन्ध गल्छी, खोप्रा लेक, गलेश्वरधाम आदि त्यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् ।

पर्वतका पर्यटकीय गन्तव्यमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, सेतीवेणीलगायत पर्छन् । अग्ला र लामा झोलुङ्गे पुलले पनि पर्वतलाई चिनाउँछ । निजी क्षेत्रको लगानीमा सञ्चालित बञ्जी जम्पलगायत साहसिक पर्यटन गतिविधिले पनि पर्वतको आकर्षण बढेको छ । पर्यटकीय गाउँ सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छायाँ क्षेत्र, साल्मे–डाँडाजस्ता गन्तव्यस्थल स्याङ्जाको पर्यटनका आधार हुन् । राम्दीघाट, मिर्मी जस्ता पर्यटकीय आकर्षणका ठाउँ स्याङ्जामा छन् ।

लमजुङमा ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानीलगायतका पर्यटकीय गन्तव्य छन् । ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनास्लु हिमाल, मनास्लु संरक्षण क्षेत्र जस्ता ठाउँले गोरखाको पर्यटकीय आकर्षण बढाएका छन् । व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर, ढोरबराहीलगायत धार्मिक तथा पर्यटकीयस्थल तनहुँमा छन् । मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम, देवचुली जस्ता ठाउँ नवलपुरका आकर्षण हुन् ।

५४ लाख बालबालिकाले दादुरा–रुबेलाविरुद्ध खोप लगाए

काठमाडौँ, ५ चैत : सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन् ।

बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप अभियानमा करिब ९३ प्रतिशतले खोप लगाएको जानकारी दिनुभयो । गत फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पश्चिमरुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको छ । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

उहाँले यही चैत ७ गतेसम्म सबै लक्ष्य हासिल गर्नेसमेत बताउनुभयो । “हामीले सोचेजस्तो नै सबै बालबालिकाले खोप लगाएका छन्”, उहाँले भन्नुभयो, “हामीले निर्धारण गरेको लक्ष्यअनुसार सबै बालबालिकाले खोप लगाउँछन् ।” दादुरा–रुबेलाको अतिसङ्क्रमित भारतसँग सीमा जोडिएका २१ तथा काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदैछ ।

खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोपकेन्द्रमा लगाइएको छ । खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोपकेन्द्र रहेका छन् । यस्तै ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिएको छ ।

सहकारी र मिटरब्याज पीडितलाई न्याय दिन सांसदको आग्रह

काठमाडौँ, ५ चैत : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले सहकारी र मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्यालगायत जनजीवनका समस्याबारे ध्यानाकर्षण गराउनुभएको हो ।

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले मिटरब्याज पीडितको न्यायका नाममा बिचौलीको संलग्नता हुने गरेको भन्दै गृह प्रशासनको ध्यानार्कषण गराउनुभयो । कांग्रेसका सांसद दिक्पालकुमार शाहीले सहकारी पीडितको समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानार्कषण गराउनुभयो । उहाँले सुन तस्करीको विषयमा प्रधानमन्त्रीको जवाफसमेत माग गर्नुभयो ।

नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले जलवायु परिवर्तनका कारण देश प्रभावित भइरहेको भन्दै सरकारको ध्यानाआर्कषण गराउनुभयो । उहाँले मुलुकमा आगलागीका घटना बढेकोप्रति चिन्ता प्रकट गर्नुभयो । “नेपालका सम्पूर्ण वन आगजनीको अत्यन्त खतरामा छन् । सिङ्गो सरकार देशका सम्पूर्ण जनप्रतिनिधिमूलक संस्था र नागरिक समाजलगायत सुरक्षाकर्मी सबैले वन तथा गाउँघरमा लाग्ने आगलागी नियन्त्रणका लागि लाग्नुपर्दछ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले ललितपुरको सातदोबाटो–धापाखेल पाँच किलोमिटर सडक विस्तारको काम यथाशीघ्र सम्पन्न गर्न माग गर्नुभयो । एमालेका सांसद दामोदर पौडेल बैरागीले पोखरालाई पर्यटक राजधानीको रुपमा घोषणासँगै पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पोखरा परिसरका प्राकृतिक एवं ऐतिहासिक महत्वका स्थानलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने माग गर्नुभयो ।

कांग्रेसका सांसद दीपक खड्काले सङ्खुवासभालगायत जिल्लामा बाढीबाट विस्थापितप्रति सरकारको ध्यान पुग्न नसकेको बताउनुभयो । सङ्खुवासभाको किमाङथाङ नाकामा जाने बाटो तत्काल खुलाउन उहाँले माग गर्नुभयो ।

कांग्रेसका सांसद दीपक गिरीले स्वर्गद्धारीका किसान ३९ दिनदेखि आन्दोलनरत रहेका भन्दै उनीहरुको माग तत्काल सम्बोधन गर्न माग गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले निर्माण व्यवसायीको भुक्तानी तत्काल गर्न माग गर्नुभयो ।

एमालेका सांसद दिपा शर्माले हुलाकी राजमार्गअन्तर्गत बाँके जिल्लामा पर्ने सडकखण्डको खुल्न बाँकी ट्र्याकका लागि बजेटको व्यवस्थापन गर्न माग गर्नुभयो । उहाँले भेरी अस्पताल र खजुरा क्यान्सर अस्पतालमा प्रयाप्त जनशक्ति व्यवस्थापनको माग गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले बढ्दो सडक दुर्घटनाप्रति चिन्ता प्रकट गर्दै सडकको स्तरोन्नति, सवारी साधनको सिटभार निक्र्यौल र निगरानी गर्न माग गर्नुभयो । कांग्रेसका सांसद दुर्लभ थापा क्षेत्रीले भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिकामा राष्ट्रिय प्राणी उद्यानको निर्माण गर्ने योजनालाई प्राथमिकताका साथ राष्ट्रिय गौरवको योजनाामा समावेश गर्न माग गर्नुभयो ।

कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले किसानको दूधको भुक्तानी तत्काल उपलब्ध गराउन माग गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले बागलुङको सडक निर्माणप्रति सरकारको ध्यानार्कषण गराउनुभयो । उहाँले पालिका जोड्ने सडकखण्ड अलपत्र परेको भन्दै चालु आर्थिक वर्षमा सम्पन्न हुनेगरी कामलाई तीव्रता दिन माग गर्नुभयो ।

राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले पश्चिम नवलपरासी जिल्लामा थारु संस्कृति विकास तथा प्रशिक्षण केन्द्र स्थापनाका लागि बजेट उपलब्ध गराउन माग गर्नुभयो । उहाँले रामग्राम नगरपालिकामा कुस्ती कबड्डी खेलका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग अनुरोध गर्नुभयो ।

कांग्रेसका सांसद नागिना यादवले रुग्न अवस्थामा रहेका नौ उद्योग पुनः सञ्चालन अघि लागत प्रतिफल अनुमान गर्नुपर्ने बताउनुभयो । एमालेका सांसद नारायणप्रसाद आचार्यले सदनमा उठेका विषयमा सम्बोधन नभएको भन्दै रुलिङ्का लागि सभामुख समक्ष माग गर्नुभयो । उहाँले देशभरका विभिन्न राजमार्गको मर्मत गर्नुपर्ने मागसमेत गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्माले भारतसँग सिमा जोडिएको दाङ्को गडुवा गाँउपालिका–८ को नाकास्थित ४८ नम्बरको सिमा स्तम्भ खोलाले बगाएको भन्दै उक्त स्थानमा पुनः सिमास्तम्भ निर्माण गर्न माग गर्नुभयो ।

चक्रपथ सडक स्तरोन्नति छिटो गर्न माग

काठमाडौँ, ५ चैत : प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको पहिचानको रुपमा रहेको चक्रपथ सडक स्तरोन्नतिका लागि नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ ।

बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौँको लाखौँ नागरिकको जनजीवन र स्वास्थ्यसँग जोडिएको चक्रपथ निर्माणका लागि सम्झौता भएको ६ वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसकेको बताउनुभयो । उहाँले काठमाडौँमा ट्राफिक व्यवस्थापनका लागि पनि विष्णुमति करिडोरलगायत सडक तत्काल निर्माण गर्न माग गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले डोटीको सेती नदी नियन्त्रणका लागि माग गर्नुभयो । नेकपा (एमाले) का सांसद निर्मला कोइरालाले मधेस प्रदेशको विकासका लागि कृषिलाई प्राथमिकतामा राख्न माग गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले धर्मसन्तान राख्न पाउने कानुनी व्यवस्था सहज बनाउन माग गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले दाङ, सल्यान र रुकुम राप्ती राजमार्गको स्तरोन्नतिका लागि बजेट सुनिश्चितता गर्न माग गर्नुभयो ।

रास्वपाका सांसद विनिता कठायतले २०२६ सालदेखि पाइपलाइनमा रेहको चलचित्र विधेयक सदनमा पेस गर्न माग गर्नुभयो ।

यसैगरी सांसद पुष्पबहादुर शाह, पूर्णबहादुर घर्ती मगर, प्रतिमा गौतम, प्रतिक्षा तिवारी, प्रभु हजारा, सांसद बद्रीप्रसाद पाण्डे, वासुदेव घिमिरे र विन्दवासिनी कङ्साकारले सडक निर्माण, डढेलो नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

राहदानीसम्बन्धी सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल), ५ चैतः पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान गर्नका लागि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ ।

विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न दूतावासको टोली यही मार्च २४ मा पोर्चुगल आउने भएको पेरिसस्थित नेपाली दूतावासले जनाएको छ । लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा टोलीले एक सातासम्म राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रदान गर्ने जनाइएको छ ।
पोर्चुगलमा रहेका नेपालीलाई सेवा प्रदान गर्न दूतावासका नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको टोली पोर्चुगल आउने तयारी भइरहेको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले राससलाई जानकारी दिनुभयो ।

टोलीले राहदानी हराएका, क्षति भएका तथा २०२३ डिसेम्बर ३१ सम्म म्याद सकिएकाहरुको राहदानीका लागि दरखास्त सङ्कलन गर्ने राजदूत भट्टराईले बताउनुभयो ।

यस्तै पोर्चुगलको अध्यागमन निकाय (आईमा) मा २०२४ अप्रिल ३० सम्म बायोमेट्रिकका लागि समय लिइसकेका तथा पोर्चुगलमा जन्मेका र हुर्केका बालबालिकाको विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क सङ्कलन गरिने उहाँले बताउनुभयो ।

विद्युतीय राहदानीका लागि समय लिन र अनलाइन फारम भर्न सेवाग्राहीलाई दूतावासले आग्रह गरेको छ । राहदानी सेवा शिविर मार्च ३१ सम्म सञ्चालन हुने बताइएको छ । गतवर्ष पनि फ्रान्सस्थित नेपाली दूतावास र राहदानी विभाग काठमाडौँको टोली आएर राजधानी लिस्बनमा करिब एक महिनासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो ।

यसअघि पोर्चुगलमा रहेका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेको समाचार राससमार्फत् संप्रेषण भएको थियो । टोली आउने भएपछि नयाँ राहदानी बनाउन र नवीकरण गर्न नपाएर समस्यामा परेका नेपालीलाई राहत हुने भएको छ । पोर्चुगल बसाइको वैधानिकताका लागि यहाँको अध्यागमन निकाय (आईमा) मा बायोमेट्रिकको तयारीमा रहेका नेपाली बढी लाभान्वित हुने भएका छन् ।

महरालाई सीआईबी कार्यालय लगियो

काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआईबी कार्यालय लगिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई जहाजबाट काठमाडौँ ल्याएर सीआईबी कार्यालय लगिएको हो।

उनलाई आजै म्याद थपको लागि सरकारी वकिल कार्यालय हुँदै काठमाडौँ जिल्ला अदालत बबरमहल लगिने सीआईबीले जनाएको छ।

महरालाई भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा काठमाडौं ल्याइँएको हो ।

सुन तस्करी प्रकरणमा जोडिएका महरालाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार प्रहरीलाई निर्देशन दिएका थिए ।

पूर्व सभामुख समेत रहेका महरालाई १३८ किलो सुन तस्करीको जाँचबुझ गर्न बनेको आयोगले दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो ।

पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । महराका छोरा राहुल यसै प्रहरणमा गत भदौ देखिनै थुनामा रहेका छन् ।

जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पुगेको छ। यसअघि सिआइबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागजमात्रै गराएर छाडेको थियो।

सुदामा ताजा समाचार

पञ्चकन्याद्वारा कविता नेपालीलाई आर्थिक सहयोग

काठमाडौँ । पञ्चकन्या समूहले बहुप्रतिभाशाली कलाकार तथा फिटनेस आइकन कविता नेपालीलाई एभरेस्ट र लोत्से ,जुम्ल्याहा शिखर आरोहण गर्न आर्थिक सहयोग गरेको छ। समूहका प्रबन्ध निर्देशक...

आवश्यकता र प्राथमिकताका अधामा बजेट ल्याउन प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन...

संबिधान संसोधनमा नेपाल बारले रचनात्मक सहयोग गर्छ ः बिजय मिश्र

काठमाडौं। नेपाल बार एसोसियसनको नव निर्वाचित अध्यक्ष बिजय मिश्रले संबिधान संसोधनमा रचनात्मक सहयोग गर्ने प्रतिबद्ता जनाएका छन् । प्रतिस्पर्धी रमण श्रेष्ठलाइ अत्याधिक मतले पराजित गरेर...

शुरु भयो बिस्का जात्रामा, तौमढीबाट रथ तानिँदै

भक्तपुर , ८ रात ९ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज शुरु भएको छ। तौमढीस्थित...

सरकार र शिक्षक महासंघबीच वार्ता हुँदे

काठमाडौं । शिक्षा ऐन जारीको माग राख्दै केही दिनयता आन्दोलनरत शिक्षक र सरकारबीच अहिले वार्ता भईरहेको छ । शिक्षकहरुले शिक्षा ऐन नबनिकन आफ्नो कार्यक्षेत्र...