Page 2

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ, १६ चैत : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि संसदीय कूटनीतिलाई प्रभावकारीरुपमा अघि बढाइने बताउनुभएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु) को एक सय ४८औँ महासभामा सहभागी भई आज स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख घिमिरेले नेपालले भौगोलिक र क्षेत्रीय चुनौतीको सामना गरी जलवायु परिवर्तनको असरबाट जोगिन भूमिका निर्वाह गर्ने विषयमा छलफल भएको बताउनुभयो । नेपालले असंलग्न अभियानमा संलग्न भई आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विषयमा महासभामा साइडलाइन वार्ता भएको उहाँले जानकारी दिनुभयो ।

यही चैत १० देखि १४ गतेसम्म सङ्घको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल यही चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो । महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीति ः शान्ति र समझदारीका लागि सेतु निर्माण’ विषयमा सङ्घीय संसद्कातर्फबाट सम्बोधन गर्नुभएको थियो ।

कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत

काठमाडौँ, १६ चैत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति र सहकारी विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गर्नुभएको छ ।

कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहनुभएको आदिवासी जनजाति विभागको सदस्यमा सभापति देउवाले आज नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्द सन्तोषी राई, आङ्पासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्बे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङलाई मनोनयन गर्नुभएको हो ।

यसैगरी सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहनुभएको सहकारी विभागको सदस्यमा भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने, कृष्ण खनाल र कृष्णप्रसाद पौडेललाई मनोनयन गर्नुभएको छ ।

एक सय ५९ खानी उत्खननका लागि अनुमति

काठमाडौँ, १६ चैत : खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोजतलास गरिएका एक सय ५९ खानीलाई उत्खनन गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ ।

खानी क्षेत्रको विकास र विस्तारमार्फत राज्यलाई योगदान दिँदै आएको विभागले देशका विभिन्न क्षेत्रमा खानी उत्खननका लागि अनुमतिपत्र प्रदान गरेको हो । खानी उत्खननका लागि यसअघि एक सय ५२ खानीलाई अनुमतिपत्र प्रदान गरे पनि चालु आवमा थप सातवटालाई अनुमतिपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले राससलाई जानकारी दिनुभयो ।

यस्तै, सो विभागले चार सय २२ खानी खोजतलास गर्नका लागि अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ । नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि यसअघि तीन सय ५९ खानीलाई खोजतलास प्रदान गरेको विभागले चालु आवमा थप ६३ खानीलाई खोजतलासका लागि अनुमतिपत्र प्रदान गरेको सूचना अधिकारी बाँस्कोटाले बताउनुभयो ।

सूचना अधिकारी बाँस्कोटाका अनुसार फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट लाइसेन्स प्रदान गरिएको हो ।

विसं २०३३ देखि आधिकारिक रूपमा स्थापना भई खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको विभागले हालसम्म ५० भन्दा बढी खानीको पहिचान गरी उत्खननका लागि विभिन्न कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । उदयपुर सिमेन्ट कारखाना र हेटौँडा सिमेन्ट उद्योगलाई चाहिने चुनढुङ्गा खानी विभागले यसअघि अध्ययन गरेर प्रदान गरेको हो ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरेले खानी विभागले यस वर्ष मात्रै १० भन्दा बढी स्थानमा खानीको अध्ययन गरिरहेको बताउनुभयो । उहाँका अनुसार पूर्वी रुकुमको भूमे गाउँपालिकास्थित झुलावाङ क्षेत्रमा फलाम, सङ्खुवासभाको लुहाकोटमा फलाम, भोजपुरको दिङ्लामा तामा, सिन्धुलीको खनियाखर्कमा ग्रेनाइट, धादिङको सुनौला बजारमा डोलोमाइट, धादिङको गणेश हिमालमा रुबी, रुकुममा तामा, उदयपुरको रतुवामाईमा फलाम, मधेस प्रदेशमा सेरामिक्स र धादिङको बेनीघाटमा चुनढङ्गाको अध्ययन भइरहेको छ ।

चालू आवमा सो विभागले खनिज कार्यका लागि अनुमतिपत्र प्रदान भएका कम्पनीले समयमा नै काम नगरेको भन्दै एक सय सात खानी तथा कम्पनीको अनुमतिपत्र रद्द गरेको छ । चालु आवमा ८२ खानीको अनुगमन तथा निरीक्षण गरिएको छ ।

विभागले चालु आवको फागुनसम्म खानी उत्खनन तथा खोजतलासका लागि अनुमति प्रदान गरेबापत रु ३३ करोड ३२ लाख राजस्व सङ्कलन गरिएको छ । फागुन मसान्तसम्म रु ३५ करोड ६६ लाख ३३ हजार ४४ राजस्व सङ्कलन गरेको थियो ।

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको उल्लेख गर्नुभयो ।

“राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा तथा कठिनाइप्रति सरकार गम्भीर छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “तर निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा आयोजनाको काम समयमै सम्पन्न नभएको, सम्झौताअनुरूप गुणस्तरीय काम नभएको, निर्माणको अवधि लम्बिँदा राज्यको अतिरिक्त दायित्व थपिनेजस्ता समस्या पनि गम्भीर छन् ।” रणनीतिक महत्वका आयोजना ओझेलमा पर्ने, अनावश्यक योजना थपिँदै जाने, राज्यको दायित्व बढ्दै जाने र खास गुणात्मक प्रतिफल नदिने बेथितिको दुष्चक्रबाट मुक्त हुनेगरी काम गर्न आफूले अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयलाई निर्देशित गरिसकेको उहाँले बताउनुभयो ।

सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनपछि राज्यको दायित्वमा आउने आयोजनामध्ये स्रोत सुनिश्चितता नभएका आयोजना सहमतिका आधारमा अन्त्य गर्ने कुरामा सरकार सकारात्मक रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँले भन्नुभयो, “राज्यको संरचनागत कमजोरी र समयमै भुक्तानी दिन नसकेका कारण व्यवसायी अप्ठ्यारोमा परेकाले कतिपय आयोजनाको काम समयावधिभित्रै सम्पन्न हुन नसकेका समस्याको सम्बोधनका लागि सरकारले आवश्यक निर्णय लिनेछ ।”

पूर्वाधार विकासका दृष्टिले हाम्रा कतिपय ऐन कानुन बाधक देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पर्यावरणको रक्षाप्रति सचेत रहँदै प्रचलित कानुनलाई विकासमैत्री बनाउँदै लगिने बताउनुभयो । “वन ऐनलगायत महत्वपूर्ण ऐन संशोधन गर्ने प्रक्रिया प्रारम्भ भएको छ”, उहाँले भन्नुभयो, “यसबाट निर्माण उद्योगका लागि अत्यावश्यक नदीजन्य तथा खानीजन्य सामग्रीलाई सर्वसुलभरूपमा उपलब्ध गराउन राम्रो वातावरण बन्नेछ ।”

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज हेटौँडामा सम्बोधन गर्दै उहाँले पछिल्लो समय अर्थतन्त्रको सूचकाङ्कमा सुधार देखिएको उल्लेख गर्नुभयो । तर उहाँले देशको अर्थतन्त्र अझै पनि दबाबमुक्त भने नरहेको भन्दै यसका लागि घनिभूत छलफल आवश्यक रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आगामी नीति कार्यक्रम र बजेटमा सबै क्षेत्रलाई समेट्ने गरी बजेट तयारीसमेत भइरहेको बताउनुभयो । उहाँले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको उल्लेख गर्दै निर्माण व्यवसायीको बक्यौता रकम तत्काल निकास गर्न सरकार लागिपरेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीले सम्झौताबमोजिमको काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको भन्दै राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा तथा कठिनाइप्रति सरकार गम्भीर रहेको बताउनुभयो ।

निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा आयोजनाको काम समयमै सम्पन्न नभएको, सम्झौताअनुरूप गुणस्तरको काम नभएको, निर्माणको अवधि लम्बिँदा राज्यको अतिरिक्त दायित्व थपिनेजस्ता समस्या गम्भीररुपमा देखापरेको प्रधानमन्त्री दाहालको भनाइ थियो । राज्यका रणनीतिक महत्वका आयोजना ओझेलमा पर्ने, अनावश्यक योजना थपिँदै जाने, राज्यको दायित्व बढ्दै जाने र खास गुणात्मक प्रतिफल नदिने, बेथितिको दुष्चक्रबाट मुक्त हुने गरी काम गर्न आफूले अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयलाई निर्देशित गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अब देशमा विकासको कामले गति लिने बताउनुभयो ।

“सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनपछि राज्यको दायित्वमा आउने आयोजनामध्ये स्रोत सुनिश्चितता नभएका आयोजना सहमतिका आधारमा अन्त्य गर्ने कुरामा सरकार सकारात्मक छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “राज्यको संरचनागत कमजोरी र समयमै भुक्तानी दिन नसकेका कारण व्यवसायी अप्ठ्यारोमा परेकाले कतिपय आयोजनाको काम समयमै सम्पन्न हुन नसकेका समस्याको सम्बोधनका लागि सरकारले आवश्यक निर्णय लिनेछ ।”

पूर्वाधार विकासका दृष्टिले हाम्रा कतिपय ऐन कानुन बाधक देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले पर्यावरणको रक्षाप्रति सचेत रहँदै प्रचलित कानुनलाई विकासमैत्री बनाउँदै लगिने बताउनुभयो । “वन ऐनलगायत महत्वपूर्ण ऐन संशोधन गर्ने प्रक्रिया प्रारम्भ भएको छ”, उहाँले भन्नुभयो–“यसले निर्माण उद्योगका लागि अत्यावश्यक नदीजन्य तथा खानीजन्य सामग्रीलाई सर्वसुलभरूपमा उपलब्ध गराउन राम्रो वातावरण बन्नेछ ।”

प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीका क्षेत्रमा उलेख्य काम गरेबापत मकवानपुरका निर्माण व्यवसायी धु्रव कार्की र रोशन श्रेष्ठलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण व्यवसायीको रु ६० अर्बभन्दा बढी भुक्तानी राज्यले दिनुपर्ने, देशविकासमा लागेका युवा निर्माण व्यवसायीलाई पलायन हुनबाट रोक्न खरिद नियमावलीमा संशोधन गर्नुपर्ने तथा टेन्डर हुनुअगावै मुआब्जा वितरणलगायत अन्य काम समयमै सम्पन्न गर्न माग गर्नुभयो ।

यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक तथा औद्योगिक अवस्था नाजुक भएका कारण विकास निर्माणमा असर परेको उल्लेख गर्दै निर्माण व्यवसायीका समस्या समाधान गर्नुपर्नेमा प्रधानमन्त्री दाहालसमक्ष आग्रह गर्नुभयो ।

उहाँले निर्माण व्यवसायीहरुको भुक्तानी छिट्टै गर्न नेपाल सरकारसँग माग पनि गर्नुभयो । अध्यक्ष ढकालले भन्नुभयो “देश विकासका लागि पूर्वाधारको निर्माण र विकास सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नुपर्छ । सरकारले उनीहरुको भुक्तानीमा ढिलाइ गर्दा परियोजनाहरूमा ढिलाइ हुनसक्छ । व्यवसायीहरुले पनि बैंक किस्ता, श्रमिकको ज्याला तथा करको ठूलो रकम भुक्तानी गर्न सकेका छैनन्, उनीहरु समस्याग्रस्त छन् ।”

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले पनि निर्माण व्यवसायीहरुका समस्याप्रति सरकार गम्भीर बन्न सरकारसमक्ष आग्रह गर्नुभयो । उक्त कार्यक्रममा सात प्रदेशसहित ७७ जिल्लाका एक हजार आठ सय निर्माण व्यवसायीको सहभागिता रहेको छ ।

तस्बिरमा एसइई परीक्षा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु भएको छ  । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर परीक्षा सञ्चालन भएको छ ।

पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको हो । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा सहभागी हुन मुलुकभरबाट पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले रजिस्ट्रेसन फाराम भरेका छन् ।

सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापानका २३ जना रहेको पनि बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिनुभयो । तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ छ ।  परीक्षाका लागि देशभरि दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा ४४१ वटा निर्धारण गरिएको छ । नेपाली भाषामा पढाइ सञ्चालन गरिरहेको जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ । यस पटकबाट परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिनेछ ।

गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो । यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनैपर्छ । दुई विषयसम्म ननग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेड वृद्धिको मौका दिइनेछ । यस वर्षदेखि परीक्षा सञ्चालन हुने सातवटै विषयमा २५ अङ्कको आन्तरिक मूल्याङ्कन हुनेछ भने ७५ अङ्कको मात्रै सैद्धान्तिक परीक्षा हुनेछ ।

चिकित्सकको निगरानीमा नेता रायमाझीको उपचार हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उहाँलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो ।

नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उहाँको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले उहाँलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताउनुभयो ।

“उहाँलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो”, डा पौडेलले भन्नुभयो, “अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ ।” उहाँको स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको बताउनुभयो ।

श्रीएअरको जहाज साढे दुई घण्टा आकाशमै

धनगढीबाट काठमाडौंका लागि उडेको श्रीएअरको फ्लाइट नम्बर २२८ खराव मौसमका कारण दुई घण्टा २२ मिनेट आकाशमै फन्को मारेपछि यात्रुले सास्ती भोग्नुपरेको छ ।

धनगढी–काठमाडौंको उडान समय ५० देखि ५५ मिनेट हो । धनगढीबाट ७ः२२ बजे उडेको सो जहाज मौसम खराव हुँदा काठमाडौबाट फर्किएर भैरहवामा आपतकालीन अवतरण गरिएको हो ।

श्रीएयरलाइन्सका धनगढीमा प्रमुख गजेन्द्रबहादुर शाहीका अनुसार ८० सिट क्षमताको सो जहाजमा दुई बच्चासहित ७७ जना यात्रु सवार थिए । धनगढीबाट उड्दा काठमाडौंको मौसम ठिक थियो तर एकाएक विग्रेपछि जहाज भैरहवा पुगाइएको थियो । नेपालगञ्जबाट उडेको जहाज पनि भैरहवा अवतरण गरिएको थियो ।

उहाँले भन्नुभयो, ‘धनगढीबाट उडेको जहाजले काठमाडौंको आकाशमा डेढ घण्टाभन्दा बढी फन्को लगाउँदा पनि जहाज अवतरण हुन सक्ने गरेर मौसम सुधार नभएपछि भैरहवा अवतरण गरिएको हो ।’

जहाज अवतरण हुन नसकेका कारण चालक र परिचालकले यात्रुलाई नबताएपछि यात्रुहरुबिच रुवावासी चलेको थियो । हामीसँग रहेका कैंयौ यात्रु भैरहवा पुग्दासम्म रोइरहेका थिए, एक यात्रुले गोरखापत्रलाई बताउनुभयो ।

श्रीएअरकै रनसिंह ठकुल्लाका अनुसार जहाजमा थप एक घण्टा उडाउन मिल्ने फ्युल थियो, त्यसैले यात्रु आत्तिन जरुरी थिएन । उहाँले सो जहाज ११ः५५ बजे भैरहवाबाट उडेर १२ः४६ मा काठमाडौमा अवतरण भइसकेको बताउनुभयो ।

डा. आरजु राणाको सफल शल्यक्रिया

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा‍‍.आरजु राणा देउवाको ‘हाइपर प्याराथाइरोइड्इजम’को शल्यक्रिया सम्पन्न भएको छ । गत चैत २ गते स्वास्थ्य उपचारका लागि भारत जानुभएका उहाँको दिल्लीस्थित म्याक्स अस्पतालमा चैत १४ गते बुधबार शल्यक्रिया भएको उहाँको सचिवालयले जनाएको छ  ।

शल्यक्रियापछि उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएको उहाँको सचिवालयले जनाएको हाे ।

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

काठमाडौँ, १५ चैत : गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा हुनुहुन्थ्यो । उहाँ आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहनुभएको थियो ।

नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आउनुभएकी पाठक बिहान ६ बजे उठेर कलेज पढाउन जाने तरखरमा हुनुहुन्थ्यो । एकबिहानै सुलोचनाका देवरले फोन गर्नुभयो । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित पृथ्वी राजमार्गमा लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनाको खबर सुनेसँगै देवरले बुटवलबाट काठमाडौँ आउँदै गरेका आफ्ना दाई प्रकाश पाठकको खबर सोध्न फोन गर्नुभएको रहेछ ।

मध्यरातको २ बजे श्रीमान्सँग फोन सम्पर्क गरेर सुत्नुभएकी सुलोचना देवरको फोनसँगै आत्तिनुभयो । उहाँले श्रीमान्लाई पटकपटक फोन सम्पर्क गर्न खोज्नुभयो तर श्रीमान्को फोन लागेन । त्यसपछि तत्काल सुलोचनाका देवर, जेठाजु र आफन्त गजुरी जानुभयो । सुलोचनाको भने जाने हिम्मत बनेन । उहाँ पछि मात्र त्यहाँ पुग्नुभयो । प्रकाश पहिले पनि दुर्घटनामा पर्नुभएको थियो ।

सो बस दुर्घटना हुँदा प्रकाशसहित १२ जनाको ज्यान गयो । स्थानीयवासी, आफन्तजन र प्रहरीको अथक प्रयासमा प्रकाशको शव दुर्घटना भएको ३६ घण्टापछि मात्र भेटिएको थियो । त्यो ३६ घण्टा सुलोचनाका लागि ज्यादै पीडादायी बन्यो । “प्रकाशको शवमा कुनै चोट लागेको थिएन, समयमा नै शव भेटिएको भए बचाउन सकिन्थ्यो भन्ने लाग्छ, छोराले बाबा कहिल्यै नआउने हो भनेर बेलाबेलामा सोधिरहन्छ”, सुलोचना भन्नुहुन्छ ।

वित्त विषयमा एमफिल पूरा गर्नुभएकी सुलोचना विद्यावारिधिको तयारीमा हुनुहुन्थ्यो । श्रीमान्को निधनसँगै उहाँको उक्त सपनासमेत तत्कालका लागि तुहिएको छ । नेपालको ट्रेड युनियन आन्दोलनमा सक्रिय प्रकाश नेपालमा उत्पादित खाद्यान्न र तरकारीलाई विदेशसम्म लैजाने योजनाका साथ अगाडि बढ्नुभएको थियो । उहाँको निधनसँगै देशले पनि एक होनहार युवा व्यवसायी गुमाएको छ ।

लुम्बिनीबाट चालक दलका सदस्यसहित ५४ यात्रु बोकेर काठमाडौँ आएको लु२ख २१२१ नम्बरको बस सडकबाट अन्दाजी १०० मिटर तल त्रिशूली नदीमा खस्दा १२ जनाले ज्यान गुमाएका छन् भने ४२ जना घाइते भएका छन् ।

उक्त दुर्घटना सडकको दुरावस्थाका कारण भएको प्रहरीले निस्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक गौतमकुमार केसी सडकको जीर्ण अवस्थाका कारण गजुरीमा दुर्घटना भएको बताउनुहुन्छ । “एकातिर जीर्ण सडक र अर्कातिर क्षमताभन्दा धेरै यात्रु भएको कारण खाल्डोमा गएर बसको टायर ठोकिएको र उफ्रेर अगाडि बढ्न खोज्दा बस पल्टन गएको अनुसन्धानमा देखिएको छ”, उहाँ भन्नुहुन्छ ।

यस्तै गत चैत ५ गते सोमबार रुकुम पश्चिमबाट मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस बागलुङमा दुर्घटना हुँदा रुकुमका पत्रकार विक्रम परियारसहित नौ जनाको मृत्यु भयो । पत्रकार परियार दलित पत्रकार सङ्घको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन गाडी चढेर काठमाडौँ आउँदै हुनुहुन्थ्यो । दलित पत्रकार सङ्घको महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने सपनाका साथ काठमाडौँ आउनुभएका पत्रकार परियारको बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा भएको दुर्घटनामा मृत्यु भयो ।

पत्रकार परियार बुबा रनवीर र आमा रश्मीका कान्छो छोरा हुनुहुन्थ्यो । उहाँका जेठो दाइ अमृत परियार परिवारसँग दाङमा बस्दै आउनुभएको छ । बुबाको पहिले नै मृत्यु भइसकेकाले आमाको हेरचाह गरेर परियार रुकुममा बस्दै आउनुभएको थियो । दुर्घटनामा विक्रमको मृत्युसँगै आमा रश्मीको साहारा गुमेको छ । बागमती प्रदेशको ०१–००६ ख ३८७९ नम्बरको यात्रुवाहक बस निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा सात जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा निधन भएको थियो ।

बस सडकबाट अन्दाजी एक सय ५० मिटर तल खस्दा भएको दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । घाइतेको हाल बाग्लुङ, पोखरा र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गत पुस २७ गते बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै भे१ख ३९१२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गयो । राति १० बजेको समयमा दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा ती व्यक्तिहरूले ज्यान गुमाएका थिए । सोही दुर्घटनामा परेर १७ जना घाइते भएका छन् ।

यसैगरी गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उहाँका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियान्स र छोरी स्मारिकाको ज्यान गयो । उक्त दुर्घटना बाटोको दुरावस्थाका कारण भएको काठमाडौँ प्रहरीले जनाएको छ ।

माथि उल्लेखित दुर्घटना केवल प्रतिनिधिमूलक घटनामात्र हुन् । नेपालमा सवारी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् भने हजारौँ व्यक्तिहरु अङ्गभङ्ग तथा घाइते हुने गरेका छन् । सडक दुर्घटनाबाट गत पाँच वर्षमा ११ हजार तीन सय पाँच जनाले अकालमा ज्यान गुमाएका छन् भने २७ हजार सात सय २६ व्यक्ति गम्भीर घाइते भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुर्घटनाका कारण नेपालमा एक हजार तीन सय तीन जनाले अकालमा ज्यान गुमाएका छन् । यसमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेको छ । मधेस प्रदेशमा मात्र साउनदेखि माघ मसान्तसम्म दुई सय ९० जनाले ज्यान गुमाएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल बताउनुहुन्छ ।

यस्तै, लुम्बिनी प्रदेशमा दुई सय ६१, कोशी प्रदेशमा दुई सय १९, बागमती प्रदेशमा एक सय ७३, सुदूरपश्चिम प्रदेशमा एक सय चार, गण्डकी प्रदेशमा एक सय, काठमाडौँ उपत्यकामा ९६ र कर्णाली प्रदेशमा ६० जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । सोही अवधिमा २३ हजार पाँच दुर्घटना भएका छन् । दुर्घटना भएकामध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ११ हजार छ सय १९, मधेस प्रदेशमा पाँच हजार ८०, कोशी प्रदेशमा दुई हजार आठ सय ३०, बागमती प्रदेशमा एक हजार दुई सय २१, लुम्बिनी प्रदेशमा नौ सय २९, कर्णाली प्रदेशमा आठ सय छ, गण्डकी प्रदेशमा दुई सय ९२ र सुदूरपश्चिम प्रदेशमा दुई सय २८ दुर्घटना भएको प्रहरी प्रवक्ता ढकाल बताउनुहुन्छ ।

चालु आवको साउनदेखि माघ मसान्तसम्म सवारी दुर्घटनाबाट तीन हजार छ सय ४३ यात्रु गम्भीर घाइते भएका छन् भने १५ हजार सात जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आव २०७६/७७ मा दुई हजार दुई सय ५१, आव २०७७/७८ मा दुई हजार पाँच सय, आव २०७८/७९ मा दुई हजार आठ सय ८३ र आव २०७९/८० मा दुई हजार तीन सय ६८ ले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । यस्तै आव २०७६/७७ मा चार हजार छ सय १५, आव २०७७/७८ मा छ हजार चार सय ४८, आव २०७८/७९ मा सात हजार दुई सय ८२ र आव २०७९/८० मा पाँच हजार सात सय ३८ जना सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका छन् ।

उपत्यकामा मात्र सवारी दुर्घटनाबाट एक सय १७ को मृत्यु

सवारी दुर्घटनाबाट देशभर हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदा काठमाडौँ उपत्यकामा मात्र एक सय १७ जनाले ज्यान गुमाएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले दिएको जानकारीअनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा भएका विभिन्न दुर्घटनामा परेर एक सय १७ जनाले अकालमा ज्यान गुमाएका हुन् ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ उपत्यकामा चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउनुहुन्छ । “साँघुरो सडकमा चालकले लापरवाही गरेर सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको देखिन्छ”, उहाँ भन्नुहुन्छ । कार्यालयका अनुसार चालु आवमा चालकको लापरवाहीबाट चार हजार तीन सय ४५, तीव्रगतिका कारण एक हजार नौ सय ४८, मादक पदार्थ सेवनका कारण चार सय ७५, यान्त्रिक गडबढीका कारण ६४, ओभरटेकका कारण ७६, सडकको अवस्थाका कारण १३ र अन्य कारण ९७ दुर्घटना भएका छन् ।

सडक दुर्घटनाका मुख्य कारण

सडक सञ्जाल थपिएसँगै नेपालमा पछिल्लो समय सवारी दुर्घटनासमेत बढ्दै गएको छ । सवारी दुर्घटना र यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ‘यातायात सुधार सुझाव कार्यदल’ गठन गरेको थियो ।

उक्त कार्यदलले एक वर्ष लगाएर यातायात क्षेत्रको सुधारका लागि अध्ययन गरेर गत माघमा सरकारसमक्ष प्रतिवेदनसमेत बुझाइसकेको छ । उक्त प्रतिवेदनले सडक दुर्घटनाका प्रमुख कारण पाँचवटा रहेको बताएको छ । सडक दुर्घटनाका कारणमा मानवीय कारण, सवारीसाधनको अवस्था, सडकको अवस्था, सडक प्रयोगकर्ता र मौसमको कारण रहेको बताइएको छ ।

नेपालमा हुने सवारी दुर्घटनाका कारणमध्ये सवारी चालकको कारण ८८ दशमलव ३५ प्रतिशत दुर्घटना हुने गरेको छ । यस्तै सवारीसाधनको कारण दुई दशमलव ५९ प्रतिशत, यात्रुको कारण चार दशमलव २० प्रतिशत, सडकको अवस्थाका कारण चार दशमलव १२ प्रतिशत र मौसमका कारण शून्य दशमलव ७४ प्रतिशत दुर्घटना हुने गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सवारी चालकको शारिरीक र मानसिक अवस्था, ट्राफिक नियमको पालना गर्ने प्रवृत्ति र चालकको दक्षता र सीप दुर्घटनासँग प्रत्यक्ष सम्बन्धित रहने बताउनुहुन्छ । “दक्ष र सीपालु चालक अनुशासित भएर सवारी चलाउँदा दुर्घटनामा कमी आउँछ”, उहाँ भन्नुहुन्छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु दुर्घटना न्यूनीकरणका लागि सरकारले पूर्वसचिव धनबहादुर तामाङको संयोजकत्वमा ‘सडक दुर्घटना अध्ययन कार्यदल’ गठन गरेर अध्ययन गरिरहेको बताउनुहुन्छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट गत पुस २९ गते गठन भएको उक्त कार्यदलमा सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरीलगायत सरोकारवाला निकाय सदस्य छन् । उक्त कार्यदलले विगत एक–दुई महिनाभित्र नेपालका विभिन्न भागमा भएका दुर्घटनालाई विस्तृत अध्ययन गरेर अध्ययनको प्रतिवेदन र दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुझाव सरकारलाई बुझाउनेछ ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...