Page 3

नाउपा नेताको सनसनीपूर्ण खुलासाः ‘रेमश चौधरीले सुदूर सरकार ढल्योभने चार जनाको हत्या हुन्छ भनेका छन्’

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय समस्य रमेश विश्वकर्माले आफूहरुमाथि ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको बताए ।

‘यदि सुदूरपश्चिममा कमल बहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रम भएकाले मैले यसलाई सामान्य लिएको छैन,’– उनले भने ।

उनीमाथि आज पार्टी केन्द्रीय समितिको बैठकमा भौतिक आक्रमण भएको थियो । आफूलाई केन्द्रीय कार्यालयको सबै ढोकाहरु थुनेर कुटपिट गरिएको उनले बताए । कुटपिटमा संलग्न सबै मानिसहरु नयाँ रहेको उनले बताए । उनीहरु कसरी र कहाँबाट आए आफूलाई कुनै जानकारी नभएको उनले बताए ।

रेशमले आफूसहित टीकापुर नगरपालिकाका मेयर रामलाल डरौरा थारु, टीकापुर नगरपालिका– ४ का वडाअध्यक्ष लालवीर चौधरी र टीकापुर– ५ का वडाअध्यक्ष बलवीर चौधरीको हत्या हुनसक्छ भनेको भोलिपल्टै पार्टी केन्द्रीय कार्यालयमा आफूमाथि भएको आक्रमणलाई सामान्य रुपमा नलिएको उनले बताए ।

आज आफूमाथि भौतिक आक्रमण भएको सुनाउँदै उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष माननीय रञ्जिता श्रेष्ठले आज विहान ८ बजे मिडिङ बोलाउनु भएको थियो । हामी मिटिङमा सहभागी हुन अनामनगरस्थित पार्टी कार्यालयमा पुग्यो । संस्थापक केन्द्रीय समस्य भनिएको थियो । २१ जनालाई बोलाइएको थियो । महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भनेपछि २१ जनालाई नै यो पार्टी चलाउने आधिकारिकता दिएको छ । यो पार्टीलाई निकास दिनुपर्छ भनेर संस्थापक केन्द्रीय समस्यको बैठक थियो । माननीय अध्यक्ष आउन ढिला भयो । उहाँ आउनुभन्दा पहिले नै केही अनौपचारिक छलफल हुने क्रममा ढोकामा चुक्कुल लगाएर, एउटा रुपको ढोकाको मात्रै चुक्कुल लागइएको थिएन कि बाहिरिने मेन गेट पनि बन्द गरेर ममाथि भौतिक आक्रमण भयो ।’

कसैले कुटपिट गरेको खण्डमा, कही दुर्घटना भएको खण्डमा र जुनसुकै घटना भएमा रेमश चौधरीले यसको जिम्मा लिनुपर्ने उनको भनाइ छ । उनले यस विषयमा वर्तमान गृहमन्त्री रवि लामिछानेको ध्यानाकार्षण गराए ।

विश्वका सबैभन्दा शक्तिशाली राष्ट्रको सूची सार्वजनिक, शीर्ष १० कुन–कुन ?

काठमाडौं । विश्वभर प्रायः शक्तिशाली र कमजोर राष्ट्रको चर्चा हुने गरेको छ। सामान्यतया, सैन्य शक्तिको आधारमा देशहरुको शक्तिलाई हेरिन्छ तर विश्वव्यापी रुपमा शक्तिको मापन बहुआयामिक छ। यसमा सैन्य शक्तिसँगै देशको राजनीतिक प्रभाव र आर्थिक स्रोतको पनि महत्वपूर्ण भूमिका हुन्छ। साथै, यसको प्रभाव अन्तर्राष्ट्रिय गठबन्धनहरुमा पनि देखिन्छ।

यूएस न्युजले सन् २०२४ मा विश्वका शक्तिशाली राष्ट्रहरुको वरियता सार्वजनिक गरेको छ। यो वरियता तयार गर्न पाँच आधार तय गरिएको छ। जसमा लिडर (विश्वको अगुवाइ), आर्थिक प्रभाव, राजनीतिक प्रभाव, बलियो अन्तर्राष्ट्रिय गठबन्धन र बलियो सैन्यशक्ति छन्।

यूएस न्यूजको यो वरियता मोडेल बीएभी समूहले तयार पारेको हो। जुन ग्लोबल मार्केटिङ कम्युनिकेसन कम्पनी डब्ल्यूपीपीको एउटा इकाइ हो। साथै, पेन्सिल्भेनिया विश्वविद्यालयको ह्वार्टन स्कुलका प्रोफेसर डेभिड रेबस्टिनको नेतृत्वमा रहेका अन्वेषकहरुले यूएस न्युज एन्ड वर्ल्ड रिपोर्टसँगको सहकार्यमा यसलाई तयार गरेका हुन्।

वरियतामा मार्च महिनाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)का आधारमा अर्थतन्त्र र जनसंख्यालाई विशेष उल्लेख गरिएको छ। २७.९७ ट्रिलियन डलरको अर्थतन्त्रका साथ यो सूचीमा अमेरिका शीर्ष स्थानमा छ। अमेरिकाको जनसंख्या ३३९.९ मिलियन छ। दोस्रो स्थानमा चीनको अर्थतन्त्र १८.५६ ट्रिलियन डलर छ। चीनको जनसंख्या १.४२ बिलियन छ।

रुस १.९० ट्रिलियन डलर अर्थतन्त्र र १४४ मिलियन जनसंख्याका साथ तेस्रो, जर्मनी ४.७० ट्रिलियन डलर अर्थतन्त्र र ८३.२ मिलियन जनसंख्याका साथ चौथो स्थानमा र ३.५९ ट्रिलियन डलर अर्थतन्त्र र ६७.७ मिलियन जनसंख्याका साथ बेलायत पाँचौँ स्थानमा छ।

यो सूचीमा दक्षिण कोरिया छैटौँ नम्बरमा छ। दक्षिण कोरियाको अर्थतन्त्र १.७८ ट्रिलियन डलर र जनसंख्या ५१.७ मिलियन छ। ३.१८ ट्रिलियनको अर्थतन्त्र र ६४.७ मिलियन जनसंख्या भएको फ्रान्स सातौँ, ४.२९ ट्रिलियन डलरको अर्थतन्त्र र १२३.२ मिलियन जनसंख्या भएको जापान आठौँ, १.११ ट्रिलियन डलरको अर्थतन्त्र र ३६.९ मिलियन जनसंख्या भएको साउदी अरब नवौँ स्थानमा छ। दसौँ स्थानमा यूएई रहेको छ। यूएईको अर्थव्यवस्था ५३६.८३ बिलियन डलर र जनसंख्या ९.५१ मिलियन रहेको छ।

किच्चकबधमा भेटियो दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष

बनियानी (झापा), १९ चैत : झापाको भद्रपुर नगरपालिका–३ स्थित धार्मिक तथा ऐतिहासिकस्थल किच्चकबधमा एउटा पूर्ण दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको छ ।

पुरातत्व विभागको टोलीले सातौँ पटक गरेको उत्खननका क्रममा उक्त भग्नावशेष फेला परेको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । भद्रपुर–३ पृथ्वीनगरस्थित देउनिया नदी र मेची नदीको किनारमा रहेको किच्चकबधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्व विभागको यही चैत २ गतेदेखि १८ गतेसम्म सातौँ पटक उत्खनन गरेको थियो ।

पुरातत्वविद् आचार्यको नेतृत्वमा पुरातत्व विभागका अधिकृत नवराज अधिकारी, इञ्जिनियर रोशनी महर्जन, प्राविधिक सहायक महेशबाबु शर्मा राजोपाध्याय र फोटोग्राफर राजन पौडेलले उत्खनन गर्नुभएको थियो । पहिलो पटक पुरातत्वविद् आचार्यको नेतृत्वको टोलीले विसं २०५८ मा किच्चकबधमा उत्खनन सुरु गरेको थियो ।

हालसम्म गरिएको उत्खननका क्रममा किच्कबधको उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तर–पश्चिम छेउमा सेन्ट्री बस्नेसहितको भवन, सोही भवनको केही पश्चिम–दक्षिणमा अर्को बहुतले भवनको भग्नावशेष फेला परेको छ । यी चार वटा भवनको दक्षिणतिर दुई सय फुटको दूरीमा सुरक्षा प्रमुखसहित अरू सुरक्षाकर्मी बस्ने शैलीको दुईतले भवन गरी पाँच वटा भवनका संरचना फेला परेका पुरातत्वविद् आचार्यले जानकारी दिनुभयो ।

यसअघिका उत्खननबाट फेला परेका पुरातात्विक सामग्रीको वैज्ञानिक परीक्षणबाट इशापूर्व प्रथम शताब्दीतिरको मानव सभ्यतासँग गाँसिएका प्रमाणित भएको आचार्यले बताउनुभयो । “यो आधारमा किच्चकबधको ऐतिहासिकता २२ सय वर्ष पुरानो भएको पाइएको छ”, उहाँले भन्नुभयो, “भारतमासँग कुषाणकाल चलेको समयमा यसस्थलमा पनि कुनै शासकको दरबार र किल्ला रहेको हुनसक्छ । पाँचौँ शताब्दीसम्म कायम रहेको (भारतको गुप्तकालसम्म) अनुमान छ ।”

उत्खनन गरिएका संरक्षितस्थलमा मानिसले टेकेर हिँड्न नहुने आचार्यले बताउनुभयो । “यो ठाउँमा मानिसको आवतजावतले संरक्षित अवशेष भत्किने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “संरक्षण समितिले सुरक्षित राख्नसक्ने हो भने मात्र यसको ऐतिहासिकता सुरक्षित रहन सक्छ ।”

प्रतिनिधिसभाः ग्रीन हाइड्रोजन उत्पादनमा नीति र लगानी बढाउनुपर्छ: सांसद पौडेल

काठमाडौँ, १९ चैतः नेपाली कांग्रेसका प्रदीप पौडेलले ग्रीन हाइड्रोजन उत्पादन गर्न आवश्यकपर्ने कानुन र लगानी बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद पौडेलले काठमाडौँँ विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पादन गरेर सफल परीक्षण गरेको र त्यसलाई अझ अनुसन्धान उत्पादन बढाउनुपर्ने बताउनुभयो । “नेपाली विश्वविद्यालय जसले नेपालमै यो ग्रीन हाइड्रोजन उत्पादन गरेर जुन अनुसन्धान ग¥यो, जसलाई सफलतापूर्वक परीक्षण गरेर देखायो र यो अनुसन्धानमा आबद्धलाई बधाई व्यक्त गर्छु”, उहाँले भन्नुभयो, “नेपालमा कुनै पनि चिज उत्पादन गर्नु आफैँमा ठूलो कुरा हो, त्यसमाथि ग्रीन हाइड्रोजन भनेको क्लिन ग्रीन एनर्जी हो, जुन नेपाललाई अत्यावश्यक छ, यो क्षेत्रको ठूलो सफलता हो, कोशेढुङ्गा हो ।”

एउटा विश्वविद्यालयको गरेको अनुसन्धानलाई राज्यले गम्भीरतापूर्वक लिएर त्यसका निम्ति आवश्यक कानुन बनाएर उत्पादनमा वृद्धि गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । “एकसय किलोमिटर गाडी गुडाउन कति पेट्रोल आवश्यक पर्छ ? र त्यसको मूल्य कति हुन्छ र एक केजी ग्रीन हाइड्रोजन उत्पादन गर्न कति पैसा लाग्छ ? तुलना गरेर हेरौँ”, सांसद पौडेलले भन्नुभयो, “रु तीन खर्ब पेट्रोलियम पदार्थ आयात गर्नका लागि खर्च गरेका छौँ, त्यसको विकल्प यो ग्रीन हाइड्रोजन बन्न सक्छ र नेपालले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्छ, नेपाल आत्मनिर्भर हुनसक्यो र उत्पादन नेपाली बजारमा लान सक्यौँ भने नेपाललाई ठूलो लाभ हुन्छ ।”

चालु आर्थिक वर्ष सात महिनामा मात्रै नेपालले रु एक खर्ब ८४ अर्ब ९३ करोड पेट्रोलियम पदार्थ आयात गरेको तथ्याङ्क सार्वजनिक भएको उल्लेख गर्दै उहाँले व्यापार घाटा कम गर्न र विकासका लागि योजना बनाउन बनाउन जरुरी भएको बताउनुभयो । विसं २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएअनुसार ग्रीन हाइड्रोजन उत्पादनमा वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद पौडेलले हमासले बन्धक बनाएका विपीन जोशीको अवस्था अहिलेसम्म पत्ता नलागेको र रुसी सेनामा कति नेपाली रहेका छन् भन्नेबारे सरकारले अध्ययन गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

“रुसी सेनामा रहेका नेपालीका आफन्त पीडामा बाँचिरहेका छन्, त्यसबारे सरकार बेखबर छ, बेखबर मात्र होइन सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन”, सांसद पौडेलले भन्नुभयो, “पराष्ट्रमन्त्रीले रुसी विदेशमन्त्रीसँग वार्ता गर्नुभयो, तर अझै नेपालीको वास्तविक अवस्था बुझ्न पाएको छैन, उद्धारका निम्ति जुन ढङ्गले पहल हुनुपर्ने त्यो हुन सकेको छैन ।”

प्रतिनिधिसभाः बुटवल–नारायणगढ सडक निर्माण तीव्र गतिमा अगाडि बढाउन सांसद भुसालको माग

काठमाडौँ, १९ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सरिता भुसालले बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ हुँदा आम नागरिकले सास्ती भोग्नुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आज विशेष समयमा सांसद भुसालले बर्खा सुरु हुनु अघि नै उक्त सडक निर्माण सम्पन्न गर्न माग गर्नुभयो ।

“वर्षायाम सुरु हुन लागिसक्यो, यात्रुहरुले धेरै सास्ती भोगिरहेका छन्, जतिसक्दो छिटो सडक निर्माण सम्पन्न हुनुपर्छ”, सांसद भुसालले भन्नुभयो, “सोे क्षेत्रको यात्रुहरुले थप सास्ती भोग्न नपरोस् भन्ने कुरामा म सदनमार्फत सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु । पटक–पटक म्याद थप्दा पनि योजना सम्पन्न हुन सक्नुका कारण पहिचान गरी निवारन गर्न सरकारसँग माग गर्दछु ।”

विस २०७५ माघ २४ गते चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेशनसँग ठेक्का सम्झौता गरी २०७५ चैत ८ गतेदेखि सडक विस्तार सुरु भएको भन्दै यहाँले निर्माणमा असाध्यै ढिलासुस्ती भएको बताउनुभयो ।

“साढे तीन वर्षमा सडक विस्तार र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएको थियो”, उहाँले भन्नुभयो, “तर अहिलेसम्म सडक पूर्णरुपमा निर्माण हुन सकेको छैन ।”

निर्माण सुरु भएपछि निर्धारित समयमा काम सम्पन्न नहुँदा दुई पटकसम्म म्याद थप गरेपनि आयोजना समयमै सम्पन्न नहुने निश्चित भएको उहाँको भनाइ छ ।

“गत २०७९ साउनमा आयोजनाको म्याद सिद्धिएपछि एक वर्षको समय थप गरिएको थियो, म्याद थपिएको एकवर्षको समय सकिँदासम्म आयोजनाको प्रगति जम्मा ३८ प्रतिशत पुगेको थियो”, उहाँले थप्नुभयो, “सो समयमा पनि काम सम्पन्न हुन नसक्दा गत भदौ ११ गतेबाट लागू हुने गरी आयोजनाले पुनः एक वर्षको समय बढाएको छ तर अझै सम्पन्न भएको छैन ।”

पूर्वी नेपाल र पश्चिम नेपाललाई जोड्नुका साथै राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडकका रुपमा रहेको यो महत्वपूर्ण मार्ग तीन वर्षको समय भए पनि पाँच वर्ष बित्दा पनि आधा काम सम्पन्न हुन नसक्नु लज्जास्पद विषय भएको उहाँले सदन समक्ष राख्नुभयो ।

उक्त सडक खण्डबाट यात्रा गर्ने यात्रुहरु धुलो र हिलोका कारण सास्ती भोग्नु बाध्य भएका छन् भने सडक आसपासका बासिन्दा र व्यवसायीहरु झनै प्रभावित भएको उहाँको भनाइ छ ।

शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु गरिने

काठमाडौँ, १९ चैत : शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा रहेको दलीय राजनीति अन्त्यका लागि अभियान सञ्चालन गरिने बताउनुभएको छ ।

राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको दलीय राजनीति अन्त्य गर्ने अभियानको सरुआत त्रिभुवन विश्वविद्यालय(त्रिवि)बाट गरिने बताउनुभयो ।

“शिक्षा क्षेत्रको लगानी परिणाममुखी हुन नसक्नुका कारण दलीय भागबन्डा हो”, उहाँले भन्नुभयो, “मेरो पहिलो प्रयास त्रिविको सेवा आयोगमा भागबन्डा नगरी नियुक्त गर्न सुरु गरेको छु ।” उहाँका अनुसार सेवा आयोगको सदस्यका लागि आवेदन दिन खुल्ला आह्वान भइसकेको छ ।

शिक्षा क्षेत्रमा भएका प्रगति र अवस्थाबारे छलफल गर्न आयोजित बैठकमा मन्त्रालयका सचिव सुरेश अधिकारीले चालु आर्थिक वर्षमा हालसम्म भएका कार्यविवरण र भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँले शिक्षामा बजेट थप गर्नुपर्ने जनाउँदै जाजरकोट भूकम्पपीडित क्षेत्रका विद्यालय पुनःनिर्माण कार्ययोजना अगाडि सार्ने बताउनुभयो । “भूकम्पपीडित क्षेत्रका विद्यालय मर्मतमा बजेट बढाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “यसका लागि आर्थिक स्रोत जुटाउने कार्य भइरहेको छ ।”

बैठकमा सांसदहरु जगप्रसाद शर्मा, इन्दिरादेवी गौतम, राजेन्द्रलक्ष्मी गैरे लगायतले शिक्षाको स्तरोन्नतिको विषयमा सुझाव राख्नुभएको थियो । समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले राजनीतिकरणरहित सामुदायिक विद्यालय सञ्चालनमा रहेको उदाहरण प्रस्तुत गर्दै शिक्षाको गुणस्तर बढाउनुपर्नेमा जोड दिनुभयो ।

शेयर बजारः दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौँ, १९ चैतः धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक छ दशमलव २६ अङ्कले ओरालो लागेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ३१ प्रतिशतले घटेर दुई हजार १२ दशमलव ०७ अङ्कमा सीमित भएको छ ।

आज विभिन्न कम्पनीका ७२ लाख ९० हजार दुई सय कित्ता शेयर ६३ हजार १५ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार तीन सय पाँच दशमलव ७५ मा कारोबार भएका छन् ।

आजको कारोबारमा होटल र पर्यटन समूहको उपसूचक एक दशमलव १६ प्रतिशत र ट्रेडिङ समूहको उपसूचक शून्य दशमलव २० प्रतिशतले बढेको छ । साथै बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।

गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य नौ दशमलव ४४ प्रतिशतले बढेको छ ।

रिभल फल्स पावर लिमिटेडको शेयरमूल्य नौ दशमलव ९८ प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रोपावर लिमिटेडको छ दशमलव २७ प्रतिशत, अपर लाहोर खोला हाइड्रोपावर कम्पनी लिमिटेडको छ दशमलव १७ प्रतिशत र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य पाँच दशमलव ७३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको रु ४७ करोड २९ लाख १७ हजारछ सय ३२ बराबरको शेयर कारोबार भएको छ ।

जहाज मर्मतसम्बन्धी कागजात पेश गर्न निगमलाई समितिको निर्देशन

काठमाडौँ, १९ चैतः प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज मर्मतबारे आवश्यक कागजात १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले न्यारोबडी जहाज मर्मतबारे समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको हो ।

समिति सभापति राजकिशोर यादवले न्यारोबडी जहाज मर्मतका विषयमा विभिन्न टिकाटिप्पणी आइरहेको भन्दै स्पष्ट जवाफ आउनेगरी समितिमा कागजात पेश गर्न निर्देशन दिनुभयो । “न्यारोबडी जहाजको इञ्जिन मर्मतका सम्बन्धमा समितिसमक्ष भ्रष्टाचार भएको सूचना छ”, समितिलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “निगमले समितिलाई विश्वास दिलाउनुपर्छ । यसमा भ्रष्टाचार भएको होइन, यी कारणले विलम्ब भएको भनी विस्तृत र ठोस रुपमा जवाफ दिनुपर्‍यो ।”

सभापति यादवले समितिले निगमको कामलाई थप प्रभावकारी बनाउन सहजीकरण गर्नेगरी बारम्बार निगम पदाधिकारीसँग छलफल गरिरहेको तर अहिलेसम्म चित्तबुझ्दो जवाफ नआएको भन्दै अर्को बैठकमा विस्तृत छलफल गरेर थप निर्णय लिने बताउनुभयो ।

गत मङ्सिर १५ गतेदेखि ग्राउण्डेड भएको निगमको न्यारोबडी जहाज गत पुस २६ गते मर्मतका लागि इजरायल पठाइएको थियो । उक्त जहाज मर्मतपछि आगामी वैशाख १५ गतेभित्र काठमाडौँ आइपुग्ने इजरायलको एमआरो कम्पनीले प्रतिबद्धता जनाएको निगमले उल्लेख गरेको छ ।

सभापति यादवले निगमको न्यारोबडी जहाज खरिद प्रक्रियाबारे आवश्यक अध्ययन गर्न उपसमिति बनाएर अगाडि बढ्ने बताउनुभयो । “उपसमितिले १५ दिनभित्र भ्रष्टाचारजन्य काम भएको विषयमा थप अध्ययन गर्नेछ । न्यारोबडी जहाससम्बन्धी सम्झौताको बेला के भएको थियो र त्यसमा भ्रष्टाचार नभएको भन्ने विषयमा समितिलाई विश्वास हुनुपर्‍यो । होइन भने थप कारबाहीका लागि बाध्य हुन्छौँ”, उहाँले भन्नुभयो ।

बैठकमा सांसदहरुले निगमको न्यारोबडी जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइएको चार महिनाभन्दा बढी समय भइसक्दा पनि अहिलेसम्म मर्मत नभएको र निगमको उडान सेवा प्रभावित भएको विषयमा छानबिनको माग गर्नुभयो । सांसदहरुले निगमबारे अध्ययन गर्न छुट्टै समिति बनाएर जानुपर्ने सुझाव दिनुभएको थियो ।

सांसदहरु भीमप्रसाद आचार्य, सुनिता बराल, शिशिर खनाल, दामोदर पौडेल बैरागी, उदयशम्शेर जवरा, भीमप्रसाद आचार्य, प्रेम सुवाल, एकनाथ ढकाल, योगेश गौचन थकाली, डा धवलशम्शेर जवरालगायतले निगमको पुनःसंरचनाका लागि कार्ययोजना बनाउन, निगमभित्र भइरहेको अनियमितता रोक्न र निगमको उडान सेवालाई चुस्त र प्रभावकारी बनाउन निगमलाई आग्रह गर्नुभएको थियो ।

सभापति यादवले निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भइरहेको विवादले मुलुकको हवाई उडान र समग्र पर्यटन उद्योगलाई नकारात्मक असर पर्ने भन्दै युरोपेली सङ्घ (इयू) को कालोसूची हटाउन र निगमको उडान सेवालाई भरपर्दो, विश्वसनीय र प्रभावकारी बनाउन दुवै संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको औँल्याउनुभयो । निगमको जहाजमा बारम्बार समस्या आउने गरेको, उडान रद्द हुनेजस्ता विषय बाहिर आइरहेको भन्दै व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्त्रालय मातहतका निकायबारे आफूले अध्ययन गरिरहेको भन्दै सम्बन्धित निकायमाथि उठेका विषयमा कुनै बदमासी भएको भए आवश्यक निर्णय लिइने विश्वास व्यक्त गर्नुभयो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले न्यारोबडी जहाज मर्मत नियमपूर्वक गरिएको दाबी गर्नुभयो । समितिले निगमको अवस्थाबारे पर्यटन मन्त्रालयका सचिव र निगमका पदाधिकारीलाई बोलाएर छलफल गरेको हो ।

सुदामा ताजा समाचार

पञ्चकन्याद्वारा कविता नेपालीलाई आर्थिक सहयोग

काठमाडौँ । पञ्चकन्या समूहले बहुप्रतिभाशाली कलाकार तथा फिटनेस आइकन कविता नेपालीलाई एभरेस्ट र लोत्से ,जुम्ल्याहा शिखर आरोहण गर्न आर्थिक सहयोग गरेको छ। समूहका प्रबन्ध निर्देशक...

आवश्यकता र प्राथमिकताका अधामा बजेट ल्याउन प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन...

संबिधान संसोधनमा नेपाल बारले रचनात्मक सहयोग गर्छ ः बिजय मिश्र

काठमाडौं। नेपाल बार एसोसियसनको नव निर्वाचित अध्यक्ष बिजय मिश्रले संबिधान संसोधनमा रचनात्मक सहयोग गर्ने प्रतिबद्ता जनाएका छन् । प्रतिस्पर्धी रमण श्रेष्ठलाइ अत्याधिक मतले पराजित गरेर...

शुरु भयो बिस्का जात्रामा, तौमढीबाट रथ तानिँदै

भक्तपुर , ८ रात ९ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज शुरु भएको छ। तौमढीस्थित...

सरकार र शिक्षक महासंघबीच वार्ता हुँदे

काठमाडौं । शिक्षा ऐन जारीको माग राख्दै केही दिनयता आन्दोलनरत शिक्षक र सरकारबीच अहिले वार्ता भईरहेको छ । शिक्षकहरुले शिक्षा ऐन नबनिकन आफ्नो कार्यक्षेत्र...