सच्चा मानवाधिकारको फराकिलो दायरा

 

आनीवक्ष ‘पियूषी’
दिङ्ला
परिचयः–
समयसापेक्ष भनौं या मानवीय आवश्यकताको दृष्टिले भनौं मानवाधिकारलाई अझै फराकिलो बनाउन सकिन्छ कि भन्ने सोच विकसित हुँदैछ । अहिलेसम्म जे जति मानवाधिकारका काम कुराहरु भैरहेछन् ती सबै मोटामोटी सुरक्षाको दृष्टिले भैरहेछन् । जब हामी मानिसहरुलाई अधिकारको खाँचो परिसकेको हुन्छ । धार्मिक दृष्टिले, कानूनी मान्यतालाई र सामाजिक विश्वासले भरिपूर्ण भएर मानिसलाई सजिलो गरी बाँच्न र बाँचेर केही गर्ने अधिकार त एिको छ तर अधिकार भनेको के हो भनेर सबै मानिसले बुझन सकिएन भने अधिकार कुण्ठित पनि हुनसक्छ । वास्तवमा मानिसले राम्रा राम्रा काम गर्ने मौका पाउनु, कसैबाट पनि कुनै किसिमको अवरोध खडा नगरिने, सत्यतथ्यहरुमा अभिव्यक्ति दिन पाउनुलाई अधिकारको स्वरुप भन्न सकिन्छ । यही अधिकारका दायराहरुलाई अझ विस्तृत रुप दिन हामीले सक्यौं भने मानवाधिकार अझ प्रभावकारी बन्दै जाओस भन्नका खातिर यहाँ केही बुँदाहरुको सामान्य परिचय गराइएको छ । यिनीहरुलाई अरु सशक्त ढंगले व्याख्या गर्दै कार्यक्षेत्रमा उतारेर मानवाधिकारलाई बलियो र प्रभावकारी बनाउने जिम्मा पनि हामी मानिसहरुको अगाडि खडा छ । यही धर्तीमा रही बाँचेका हामी व्यक्तित्वहरुले प्रस्तुत बुँदाहरुमा आवश्यक ठहरिएका थप बुँदाहरु थप गरी मानवाधिकारको दायरालाई झनै परिपक्वै बनाउन पनि सकिनेछ ।
प्रस्तुत बुँदाहरुः–
सुरक्षात्मक मानवाधिकारः–
मानवाधिकारको लागि विचार गर्दै गर्दा अहिलेसम्म सबै खाले राम्रा नराम्रा अवस्थाबाट गुज्रिन परेको मानवलाई कसरी मुक्त गर्ने भन्ने सवालका कुराहरु उठान भै आएका छन् । मानिस बाँच्दै जानेक्रममा विभिन्न अवरोधहरुले धक्का दिने पनि गरेका छन् । मोटामोटी भन्नु पर्दा तिनै अवरोधहरुबाट जोगाइ दिनुभन्ने अहिलेसम्मको हाम्रो सोचाई र गराई यस्तै छ । मात्र सुरक्षात्मक कदमको सोचबाट गुज्रिरहँदा कति सफल हुँइदैछ वा कतिपय असफलताहरुले पनि गिज्याईरहेको अवस्था पनि विद्यमान छ । यही सुरक्षात्मक कदमलाई पनि दरोखरो बनाउन मिहनत गर्नै पर्ने अवस्था देखिन्छ ।
रचनात्मक मानवाधिकार
जब जब हामी मानिसहरु यस धर्तीमा सहज रुपले बाँच्न पाउँछौं तब तब हामीलाई आफूसँग रहि बाँचेको अरु मानिसहरुको लागि भलो हुने कुनै न कुनै काम गर्न हामीलाई उत्साह जागेर आउँछ । केही हदसम्म पहिले देखिनै मानिसको भलो हुने काम त भै आएकै पनि छन्, तर ती सबै माया, दया र धर्मको खातिर भनि हुने गरेका छन् । यस्तो रुपमा काम हुँदै आएको भएतापनि अब हामी आधुनिक युगमा बाँचेको नाताले म यस धर्तीको उत्कृष्ट प्राणी हुँ, त्यसैले मैले पनि मानिसको भलो हुने राम्रा राम्रा कामहरु गर्न सफलता हाँसिल गर्नुपर्छ भनेर अघि बढ्न सकियो भने रचनात्मक मानवाधिकार मजबुत हुन पुग्छ । अनि हामी मानिसहरुलाई आत्मगौरव गर्न पाउने अवसर पनि मिल्छ । यसरी हाम्रो मानवाधिकार भित्र पर्ने कुराहरुमध्ये जानेको काम गरेर उन्नती गर्न पाउनु, नजानेको भए सिकेर भए पनि काम गर्दै जीवनयात्रा सहज बनाउन पाउनु पनि रचनात्मक मानवाधिकार हो भन्न सकिन्छ ।
सृजनात्मक मानवाधिकार
मानिसले आफ्नो बौद्धिक क्षमताको आधारमा नयाँ नयाँ कुराहरु पत्ता लगाएर मानिसकै लागि फाइदा हुने खालको काम भैदियो भने त्यस्तो कामलाई सृजनात्मक मानवाधिकार भनेर मान्न सकिन्छ । आविष्कारयुक्त, प्रविधिमय, चेतनामूलक कामहरुमा उपलब्धि हाँसिल गर्न पाइयो भने सृजनात्मक मानवाधिकार झन बलियो भएर स्थापित हुन्छ । यदि संसारमा यस्ता खाले खोज अनुसन्धानमूलक काम नभैदिएका भए सुख सुविधाका साधनहरु बन्ने थिएनन् होला । अझै पनि मानिसको लागि कैयौं खालको आविष्कारहरु खाँचो परिरहेकै छ । जो मानिस सृजनात्मक अभियानमा लाग्न खोज्छ तर विविध कारणले लाग्न पाउँदैन भने यस्तो अवस्थामा मानवाधिकार कुण्ठित हुन पुग्छ । राम्राराम्रा खालका नयाँ नयाँ कामहरु सम्पन्न गर्नु पनि सृजनात्मक मानवाधिकार हुनसक्छ ।
नैसर्गिकताको खाँ चो–ः
मानिसले मानिसकै लागि नगरी नहुने काम गरिदिनु नैसर्गिकता झल्किन्छ । नैसर्गिकता भन्नुको अर्थ प्राकृतिक अधिकार जो मानिसलाई नभै हुँदैन । मानिसले आफ्नो नैसर्गिक अधिकारको संरक्षण गर्न कर्तव्य पालन गर्नुपर्दछ । जसले आफुमा निहित अधिकारलाई कर्तव्य पालनमा रुपान्तरण गर्दैन भने उसले मानवीय नैसर्गिक अधिकार खतरामा पार्दैछ भन्ने बुझे हुन्छ । हामी मानिसको प्राकृतिक आवश्इकता नै नैसर्गिक अधिकार हो । प्रमुख रुपले नैसर्गिक अधिकारहरु प्राकृतिक र समसामयिक गरी दुई प्रकारका छन् । प्राकृतिक भन्नाले मानिसलाई सहज रुपले बाँच्नका लागि नभै नहुने समसाधान, समय, परिश्रम, गुण, ज्ञान हुन् भने समय सामयिक आवश्यकताको रुपमा काम गर्न पाउने अवसर, कर्तव्य पालन गर्ने बौद्धिक क्षमता, राजनैतिक कर्तव्य पुरा गर्ने थलो, ज्ञान गुण बढाउने सुविधा आदि पर्दछन् । जब मानिस आफूसँग भएको ज्ञान, गुण, सीप, क्षमता सही ठाउँमा प्रयोग गर्दैन वा गर्न पाउँदैन भने उसको नैसर्गिक मानवाधिकार कमजोर हुँदै जान्छ । अधिकार भन्ने कुरो अरुले दिने तर आफुले पनि मजबुत पार्ने र बढाउने हो । आफुलाई प्राप्त अधिकारलाई सही उपयोग गरी महान बनौं, बनऔं ।
सहयोगात्मक मानवाधिकार
यस धर्तीमा रहेका मानिसहरुमध्ये कतिलाई सहयोग गर्न पाउँदा खुशी लाग्छ भने कतिलाई सहयोग गर्नुपर्दा मुन्टो फर्काउन सक्छ । कसैले कसैलाई सहयोग गर्यो भने त्यो देखेर कसैलाई मन पर्दैन भने कोही त्यही दिएको सहयोगको लागि स्याबासी दिन अघि सर्छन् । यसरी चाहेको सहयोग मानिस भएर मानिसलाई दिन पाउँदैन वा अर्काले सहयोग गरेकोमा पनि बाधा पुर्याउँछ भने त्यस्तो अवस्थामा सहयोग मूलक मानवाधिकार कुण्ठित हुन पुग्यो । मानिस स्वयं सर्वगुण सम्पन्न, सर्वशक्तिमान, अनि सर्वज्ञ छैन । तर जति पनि यस संसारमा परिचालित गुण, शक्ति, बौद्धिक क्षमता, ज्ञान छन् ती सबै मानिसको लागि खाँचो पर्ने हुन्छन् । मानिस आफू शुद्ध भावनाले विचरण गर्दै जाने क्रममा कसलाई कुन बेला कस्तो सहयोग चाहिन्छ, त्यो भएन भने उसलाई अप्ठ्यारो पर्न सक्छ । सहयोग भन्ने कुरा कोही बेला लिनुपर्ने वा दिनुपर्ने हुन्छ । यसरी चाहिएको बेला मानिसले सहयोग पाएन भने उसको अस्तित्व खतरामा पर्न सक्छ । यसरी आवश्यकता परेको बेला सहयोग लिने दिने वातावरणको पक्का रुप भनेको सहयोगात्मक मानवाधिकार भनि बुझौं ।
सांस्कृतिक मानवाधिकारः
सभ्य मानिसको पहिचान भनेको आफूभन्दा ठूलाको आदर सम्मान गर्नु, श्रद्धा गर्नु, श्रद्धाले ओतप्रोत भै सहयोग पुर्याउनु आफु समानकासँग आत्मसम्मान गर्नु, समझदारीपूर्वक चल्नु विश्वास गर्नु, आफु सदाचारमा चल्नु, सद्गुणी हुनु, नैतिकवान हुनु यस्तै आफूभन्दा तलकालाई पनि आत्म सम्मान गर्नु, प्रेम गर्नु, वात्सल्यातापूर्ण व्यवहार गर्नु जस्ता व्यवहारहरु पर्दछन् । तर जब मानिसको जीवनमा माया गर्नपर्नेले माया गर्दैन, श्रद्धा गर्नुपर्नेले श्रद्धा गर्दैन, विश्वास गर्नुपर्नेले विश्वास गर्दैन, अनि यस्तै माया पाउनुपर्नेले माया पाउँदैन, श्रद्धा पाउन पर्नेले श्रद्धा पाउँदैन र सहयोग पाउनुपर्नेले सहयोग पनि पाउँदैन भने त्यति खेर सांस्कृतिक मानवाधिकार ओझेलमा पर्यो । यस्तो अवस्था नहोस् भन्नका खातिर सांस्कतिक मानवाधिकार अघि सार्नु परेको हो । संस्कृति भित्र अरु पनि सवाल उठ्न सक्छन् ।
जिम्मेवारिता मानवाधिकार
जिम्मेवार व्यक्तित्वले आफ्नो जिम्मेवारी पुरा गरेन भने त्यसको असर सरोकारवाला व्यक्ति विशेषहरुमा पर्न जान्छ । छोराछोरीप्रतिको जिम्मेवारी मातापिताको, विद्यार्थी प्रतिको जिम्मेवारी शिक्षकहरुको, बिरामीप्रतिको जिम्मेवारी डाक्टरहरुको त्यस्तै देश र जनताप्रतिको जिम्मेवारी राजनैतिक व्यक्तित्वरुको हुन्छ । सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी पुरा नगरे छोराछोरीहरु अलपत्र पर्छन, विद्यार्थीहरु बर्बाद हुन्छन्, बिरामीहरु मर्न सक्छन् अनि देश ओरालो लाग्न सक्छ । यस्तै जिम्मेवारी पुरा गर्नुपर्ने ठाउँहरु अरु पनि धेरै छन् । यसर्थ जिम्मेवार व्यक्तित्वले आफ्नो जिम्मेवारी पुरा नगरे सरोकारवालाहरुलाई ती सबै अवस्था विचार गर्ने हो भने कहाली लाग्दो हुन जान्छ । त्यसैले जिम्मेवारीपन पनि मानवाधिकार न्तरगत े पर्ने अवस्थाको यथार्थता अवगत हुनेछ । यिनै कारणहरुले र्गदा जिम्मेवारीपनलाई मानवाधिकारको स्रोत मान्न सकिन्छ । संसारमा जिम्मेवारी पुरा नर्गदाका परिणतिहरु कस्ता कस्ता होलान् हामी आआफुले विचार गरौं ।
प्रस्तुत लेखमा अभिव्यक्त सत्य तथ्यहरुलाई सामान्य रुपले परिचय गराउने प्रयास भएको छ । मानवाधिकारको सांगोपांग पुर्याएर लेख्ने हो भने महाभारत पनि सानो हुन पुग्ला तर सिमित रुपमा मानवाधिकार प्रकट भैरहेको अवस्थामा अझ प्रभावकारी रुपले धेरै आधारभुत दायराहरु समेत खुलस्त पार्न पाए झन् राम्रो हुने कुरा हाम्रो प्रयासबाट थाहा लाग्ने छ । मानवीय यथार्थतालाई मध्यनजर गरी आत्मीय भावले सक्षम व्यक्तिहरुबाट मान्यता प्राप्त ग्रन्थहरु तयार गर्न सक्नुहुनेछ । मानवाधिकारलाई फराकिलो दायरामा विचरण गराउने सकियो भने हाम्रो महानता झल्किने छ । अस्तु

LEAVE A REPLY